मिस सुदूरपश्चिममा मोनिका गुरुङ विजेता
धनगढी, २१ असोज । ‘मिस फारवेष्ट–२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङ विजेता भएकी छन् । शनिवार राती धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई पछार्दै सरकारी जागिरे समेत रहेकी २३ वर्षीया गुरुङले उपाधि हात पारेकी हुन् ।
उनी सव इन्जिनिएर पदमा सिचाई डिभिजन कार्यालयमा कार्यरत छिन । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारीका केसीले ताज पहिराएकी थिईन ।

प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनरअफ र दिव्या गैरे सेकेन्ड रनरअफ भईन । फष्ट रनरअफ ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन ।
रोयल कोलाबरेशन प्रालि नेपालले पहिलो पटक आयोजना गरेको ‘मिस फारवेष्ट –२०१८’ को निर्णायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गितकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।













