यौन अशायले हेर्नेहरुको आँखा निकाल्न सक्ने महिला टीम तयार हुन्छ : मूख्यमन्त्री भट्ट

आत्मरक्षा शिविर सुरु, १७ सय बालिका तथा महिला सहभागी

धनगढी, २० असोज । सुदूरपश्चिम प्रदेशको धनगढीस्थित क्षेत्रीय रंगशालामा आजदेखि बालिका तथा महिलाहरुको लागि आत्मरक्षा सम्बन्धी शिविर सुरु भएको छ ।

शिविरको उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले दुराचारीहरुसंग मुकाविला गर्न सक्ने टिम तयार हुने बताए । उनले यो शिविरबाट यौनको अशायले हेर्नेहरुको आँखा निकाल्न सक्ने महिला टीम खडा गर्न सक्ने विश्वास व्यक्त गर्दै सबै महिलाले आफ्नो रक्षा आफै गर्न सक्ने कला सिक्न सक्षम हुने बताए ।

मूख्यमन्त्री भट्टले जनयूद्धमा दलाल र दुराचारीहरुको आँखा निकाल्न सक्ने महिला टीम खडा गरे जस्तै यहिलेको आवश्यकता पनि त्यही रहेको बताउदै यस्तो टिम खडा गर्न प्रदेश सरकार लगानी गर्न तयार हुने विश्वास दिलाए ।

शिविरले महिलाहरुमा आत्मबल बढ्नेमा विश्वास व्यक्त गर्दै मन्त्री भट्टले प्रदेश सरकार महिला हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लागेको बताए । उनले हिंसा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको समेत औल्याए ।

प्रदेशभित्र अझैपनि बलात्कार, छाउपडी, बोक्सी आरोप लगाउनेलगायत महिला हिंसाको घटना घटिरहेको बताउँदै मुख्यमन्त्री भट्टले जसको न्यूनीकरणको लागि प्रदेश सरकारले जनप्रतिधिहरुको नेतृत्वमा चाँडै नै अभियान सञ्चालन गर्ने बताए । उनले महिलाहरुलाई मुल धारमा ल्याउन सरकार तयार रहेकोले महिलाहरु पनि स्वयम उठ्न जरुरी रहको औल्याए ।

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल, सामाजिक विकास मन्त्रालयको आयोजनामा ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, क्रियाशील पत्रकार महिला, दलित महिला अधिकार मञ्च, महिला मानब अधिकार रक्षक सञ्जाल, नारी उत्थान मञ्च लगायत एक दर्जन भन्दा बढी संघ संस्थाहरुको सहआयोजकमा यो शिविर शुरु भएको हो ।

शिविर असोज २६ गतेसम्म सञ्चालन हुने भएको छ । शिविरमा १ हजार ७ सय बढी बालिका तथा महिलाहरुको सहभागिता रहेको छ ।
मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर सञ्चालन गरिएको हो । शिविर अवधीभर चौलानी डिपार्टमेन्टल स्टोरले फिल्डमै स्वाच्छ खानेपानीको व्यवस्था समेत गरेको छ ।