दशैंलाई लक्षित गरी कैलालीमा विशेष सुरक्षा योजना लागु

धनगढी, १७ असोज । कैलालीमा जिल्ला प्रहरी कार्यालयले दशैंलाई लक्षित विशेष सुरक्षा योजना लागु हुने भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत कैलालीमा भएको हुँदा दशैंतिहार लक्षित विशेष सुरक्षा योजना लागू गरेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

बुधवार आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक घिमिरेले जुवातास, तस्करी, सार्वजनिक सम्पत्तिको सुरक्षा, ट्राफिक व्यवस्थापन, आपराधिक गतिविधि लगायतलाई मध्यनजर गरी सुरक्षा योजना तयार पारेको जानकारी दिए ।

सुरक्षा अवस्थालाई मध्यनजर गरी कैलालीको त्रिनगर भन्सार नाका, धनगढी बसपार्क, अत्तरिया बसपार्क र लम्की बसपार्कमा सहायता कक्ष समेत स्थापना गरिएको छ । दशैंतिहारको अवधिमा करीब ७ सय बढी प्रहरी परिचालन रहने बताउँदै प्रहरी उपरीक्षक घिमिरेले धनगढीका बजार क्षेत्र, राजमार्ग क्षेत्र, वन क्षेत्र, सीमा क्षेत्रमा सादा र बर्दी सहितको टोली, मोबाइल गस्ती टोली परिचालन गरिने बताए ।

चाडपर्वको मौका छोपी आपराधिक गतिविधि बढी हुने हुँदा २ नम्बरी सवारीसाधन र केही आपराधिक गतिविधिमा संलग्न र शंकास्पद व्यक्तिमाथि निगरानी समेत बढाइने बताइएको छ ।

यसैबीच, प्रहरीले कैलालीमा एक ठाउँमा थप कुकुर शाखा स्थापना गरेको छ । अपराध अनुसन्धानमा सहयोग पुग्ने भन्दै प्रहरीले त्रिनगर भन्सार नाकामा कुकुर शाखा स्थापना गरेको हो ।

यसअघि प्रदेश प्रहरी कार्यालयमा स्थापना गरिसकेको छ । प्रहरीलाई खबर गरेको ५ देखि १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्ने समेत जनाइएको छ । चाडपर्वलाई लक्षित गरी जिल्ला ट्राफिक कार्यालय कैलालीले टाइम कार्ड लागू गरेको छ ।

कैलाली प्रहरीले सुदूरपश्चिम प्रदेशको ३ वटा रुटमा टाइम कार्ड लागू गरेको जनाएको हो । ट्राफिक कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक अनिल उप्रेतीले अत्तरिया–सिसापानी र अत्तरियादेखि डोटीको बुडरसम्म साढे २ घण्टा र बुडरदेखि डडेल्धुराको स्याउलेसम्म २ घण्टा समय कायम गरेको बताए ।

चाडपर्वलाई लक्षित गरी टाइम कार्ड कडाइका साथ लागू गर्ने बताउँदै उनले टाइम कार्डमा तोकिएभन्दा चाँडो पुग्ने सवारी चालकलाई कडा कारवाही गरिने बताए ।