महिला अधिकारकर्मीको प्रश्न– निर्मला पन्तको हत्यारा पत्ता लाग्न अझै कति दिन लाग्छ सिएम ज्यू ?

धनगढी, १७ असोज । बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै केही दिन पहिले काठमाडौंमा पेटीकोट जुलुसबाट चर्चित बनेकी सावित्री सुबेदीले दोषीलाई चाँडो पत्ता लगाउन सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री संग आग्रह गरेकी छिन् ।

कञ्चनपुरको दबाबमूलक समुहले धनगढी आज आहृवान गरेको विरोध जुलुशमा सहभागी भएकी उनले मुख्यमन्त्री संग सो आग्रह गरेकी हुन् ।

यसैबीच महिला अधिकारकर्मीहरुले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अधिकारकर्मी सुवेदीले हत्यारा पत्ता लाग्न अझै कति दिन लाग्छ सिएम ज्यू ? भन्दै प्रश्न समेत गरेकी थिइन् ।

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न दबाब दिदै उनले भनिन्–‘एउटा सानो सलाईको काँटीले तावा जलाउछ तर जब हामी नारीले आफ्नो शक्ति देखाउनु प¥यो भने सिंगो देश जल्न सक्छ ।’ तसर्थ समयमै निर्मलाले न्याय पाउनु पर्ने उनको भनाई थियो ।

ज्ञपानपत्र बुझ्दै मूख्यमन्त्री भट्टले प्रदेश सरकारले अपराधी पत्ता लगाउन पुरै शक्ति लगाउँदा समेत सफल परिणाम आउँन नसकेको स्वीकार गरे । जसको निश्पक्ष छानविनको लागि पहल जारी रहेको बताए । अपराधी जतिसुकै ठूलो भएपनि बच्नु हुँदैन भन्ने तर्क दिदै मुख्यमन्त्री भट्टले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकार घटनामा संलग्न दोषी पत्ता लगाउनमा कुनै कुरामा कमी नराख्ने बताए ।

साथै महिला हिंसालाई न्यूनीकरण गर्न कानूनी प्रक्रिया संगै सामाजिक अभियानको समेत खाँचो रहेको उनको भनाई थियो । प्रदेश सरकारले जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा जनचेतना अभियान सञ्चालन गर्न गृहकार्य गरिरहेको समेत बताए ।