निर्मला हत्या प्रकरण : सबैको डीएनए ‘नेगेटिभ’
धनगढी, १४ असोज । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षण रिपोर्ट सार्वजनिक भएको छ । तर रिपोर्टमा तीनै जनाको ‘नेगेटिभ’ देखाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तीनैजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको हो ।
घटनामा संलग्न भएको आशंकामा एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परिक्षण गरिएको थियो ।
यसअघि पनि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टको समेत डीएनए परिक्षण गरिएको थियो । उनको पनि रिपोर्ट ‘नेगेटिभ’ थियो ।
कञ्चनपुरका बासिन्दाले सुरुदेखि नै एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषमाथि छानबिन गर्न माग गर्दै आएका थिए । तर लामो समयसम्म उनीहरुमाथि अनुसन्धान गरिएको थिएन् ।
एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ । छानविन समितिकै सिफारिसका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको छ ।
गएको साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटना भएको दुई महिना भन्दा बढी हुँदा पनि हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।













