राजधानी विवादमा धनगढी अनिश्चितकालिन बन्द

धनगढी, १३ असोज । प्रदेशको राजधानी र नामको विवादमा धनगढी अनिश्चतकालिन बन्दको घोषणा भएको छ । शुक्रबार प्रदेस संसदले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी राख्ने निर्णयपछि आन्दोलन नयाँरुप लिइ झन चर्किदै गएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस, राजपा लगायतले अनिश्चितकालिन धनगढी बन्दको घोषणा गरेर आन्दोलनमा उत्रेका छन् । बन्दको पहिलो दिन शनिबार साँझसम्म बाहिरबाट आउने रात्री सेवाका यातायात आउन नदिने बताइएको छ ।

बन्दकर्ताहरुले मोटरसाइकल चलाउन भने छुट दिइएको बताइएको छ । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् ।

त्यसैगरी उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द छन् । धनगढी बजार पूर्णरुपले बन्द छ । स्थानीय प्रशासनले सशस्त्र र नेपाल प्रहरीको ठूलो संख्या परिचालन गरेको छ ।

प्रदेशसभामा दुई तिहाई बहुमतका आधारमा प्रदेश राजधानी र नामको टुंगो लागेको हो । नेपाली काँग्रेस र राजपाले भने बैठक बहिस्कार गरेका थिए ।