आफ्नो प्रतिरक्षा आफै गर्न सकिन्छ आत्तिनु पर्दैन

धनगढी, ६ असोज । प्रदेश नं. ७ मा पहिलो पटक आत्मारक्षा सम्बन्धी शिविर सञ्चान हुन गईरहेको छ । मुलुकमा दिनप्रति दिन बढ्दै गएका बलात्कार तथा महिला हिंसाको घटनालाई मध्यनजर गरी महिला तथा बालबालिकाको लागि धनगढीमा सुरक्षित कसरी हुन सकिन्छ भन्ने विषयमा यहि २० गतेदेखि शिविर सञ्चालन हुने भएको छ ।

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजना तथा धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद् र क्रियाशील पत्रकार महिलाको समन्वयमा महिलाको लागि ७ दिने आत्मरक्षा शिविर सञ्चालन हुने भएको हो ।

तालिम असोज २० देखि २६ गतेसम्म धनगढीस्थित क्षेत्रीय रंगशालामा निःशुल्क शिविर हुने जनाइएको छ । शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले भने, ‘७ दिनको अवधिमा १ किक हानेर मान्छे ढाल्न सिकाउन सक्दैनौ । तर, आफ्नो प्रतिरक्षा आफै कसरी गर्न सकिन्छ भन्ने मार्सल आर्टस्का कला चाहिँ हामी अवश्य सिकाउन सक्छौं । चाहे जतिसुकै बलवान दुराचारी पुरुष होस् उससँग मुकाबिला गर्न सिकाउने छौं ।’

झण्डै १ हजार महिला तथा बालबालिकालाई तालिम दिने उद्देश्य रहेको बताउँदै उनले शिविरको अवधिमा किक हान्नेदेखि लिएर उत्पे्ररक प्रशिक्षण समेत दिने जानकारी दिए । ‘१ हजार जना महिलालाई तालिम दिएर केही हुँदैन । तर, अभियानको थालनी गर्दैछौ । तलिमबाट महिला दिदीबहिनीमा रहेको त्रास न्यूनीकरण गरी आत्मबल बढाउनेमा हामी आशावादी छौ,’ संघका महासचिव चन्दले अगाडि थपे, ‘हामी के कुरामा विश्वास गर्छौ भने कुनै पनि महिला पीडित भइसकेपछि उनको लागि न्यायको पहल गर्नुभन्दा त्यस्ता घटना घट्न नदिनु नै राम्रो हो ।’

संघले आत्मरक्षा शिविर ७ नम्बर प्रदेशमा मात्रै सीमित नराखी ७ वटै प्रदेशमा गर्ने भएको छ । धनगढीबाट शुरू भएको शिविर झापामा गएर समापन गरिने जनाइएको छ । यति मात्रै नभई सबै स्थानीय तहसँग समन्वय गरी ग्रामीण भेगमा समेत शिविर सञ्चालन गर्ने महासचिव चन्दले बताए ।

तथ्यांक अनुसार मुलुकमा १ वर्षको अवधिमा १ हजार १४ वटा बलात्कार तथा महिला हिंसाको घटना भएका छन् । पत्रकार सम्मेलनमा अत्मारक्षा सम्बन्धी डेमो समेत प्रदर्शन गरिएको थियो ।