नेकपामा जिम्मेवारी बाँडफाँड : को हुन् प्रदेश सचिब सिंहराज ?
धनगढी, ५ असोज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को शुक्रबार काठमाडौंमा बसेको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ ।
(नेकपा)को केन्दीय बैठकले सातबटै प्रदेशमा इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव छनौट गर्ने निर्णय गरेको हो ।
सो निर्णयानुसार सात नम्बर प्रदेशको इञ्चार्जमा भीमबहादुर रावल, सहइञ्चार्जमा लक्ष्मणदत्त जोशी, अध्यक्षमा कर्णबहादुर थापा र सचिबमा नेपबहादुर थारु (सिंहराज) लाई छनौट गरेको छ ।
को हुन् नेपबहादुर थारु (सिंहराज)
२०४७ सालमा अनेरास्ववियू ११औं बाट आफ्नो राजनीतिक जिवन शुरुवाट गरेका नेपबहादुर थारु २०५२ सालमा नेकपा माओवादीको साधारण सदस्यता प्राप्त गरे ।
उनी २०५४ सालमा भूमिगत भएर एरिया पार्टीको जिम्मेवारी समाल्दै गर्दा २०५७ सालमा गिराफ्तार परि २०५८ सम्म जेल जीवन विताए ।
थारु सिंहराज जेल जीवनपछि कैलाली जिल्ला सचिवालय सदस्य हुदै २०५९ मा कैलाली जिल्ला सेक्रेटरी भएर पार्टीको जिम्मेवारीबाट कहिलै पछि हटेनन् जसले गर्दा पार्टी उनलाई क्षेत्रीय ब्यूरो सदस्य बनाएर थप जिम्मेवारी सुम्पियो । उनी २०६० मा कैलाली जिल्ला इन्चार्ज भएर सिंगो जिल्लाको नेतृत्व लिए ।
पार्टीले दिएको जिम्मेवारीलाई समाल्दै आएका सिंहराज २०६१ मा जनमुक्ति सेनाको बटालियन कमिसार बने । र २०६२ मा बिग्रट कमिसार भए । २०६६ मा डिभिजन सहायक कमाण्डर भएर पार्टीको मन जित्दै जाँदा २०७० मा माओवादी पार्टीका केन्द्रीय सदस्य भएर थप जिम्मेवारी पाए ।
२०५० सालमै थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष भएर काम गर्दै आए थारु २०७३ मा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य भए । हाल उनी (नेकपा) को केन्द्रीय सदस्य समेत छन् ।













