ठाडो उजुरीलाई सम्बोधन नगर्दा हिंसा पीडित महिला थप हिंसामा

धनगढी, ४ असोज । भदौं १ गतेदेखि लागु भएको नयाँ मूलुकी ऐन कार्यान्वयन गर्ने क्रममा पुलिस प्रशासनले ठाडो उजुरीका प्रतिवादीलाई झिकाउन नमिल्ने बताएको छ ।

हिंसा खेप्दै आएका पीडित महिलाहरुलाई प्रशासनले मुद्धा नै दर्ता गर्न आग्रह गरेपछि हिंसा पीडितहरु थप हिंसा भोग्न बाध्य भएको एक कार्यक्रम सहभागिहरुले बताएका छन् ।

क्रियाशिल पत्रकार महिलाले बिहिबार धनगढीमा आयोजना गरेको महिला हिंसाको घटनालाई न्यूनिकरण गर्न हाम्रो भुमिका विषयक सन्डे क्लबमा सो कुरा बताएका हुन् ।

छलफल कार्यक्रममा ओरेक नेपालका संयोजक विनुरानाले भनिन ‘सबै हिंसा पीडितहरु मुद्धा हाल्न सक्दैनन्, केही त ठाडो उजुरी पनि दिन्छ तर प्रसाशनले ठाडो उजुरीमा पीडकलाई झिक्न मिल्दैन’ जसले गर्दा हिंसा पीडितहरु थप हिंसा भोग्न बाध्य भएको बताईन् ।

त्यस्तै सन्डे क्लबको प्रमुख वक्ता अधिवक्ता डा. जानकी तुलाधरले नयाँ कानून अयो भनेर धेरै खुशी हुदाँहुदै पनि कार्यान्वयनको पाटो हेर्दा दुःखद हुनुपर्ने अवस्था रहेको बताईन् ।

उनले भनिन् ‘देशभरिको घटना सुन्दा महिला हिंसा बढ्यो जस्तो लाग्छ तर कार्वाहीको डायरासम्म पुग्दा उपलब्धी शून्यमा झर्छ’ जसले गर्दा यो एकदमै जलित र चुनौती रहेको बताईन् ।

उनले प्रहरी प्रसाशनको बहानाबाजीलाई अंकिट गर्दै भनिन् ‘हिंसा पीडितहरुलाई ८ वटा बुँदा भएको फारम लिएर आउनुस्’ अनि कानून सम्बन्धी ज्ञान नभएकाहरु कसरी न्याय सम्म पुग्न सक्छन् भन्दै प्रतिप्रश्न समेत गरिन् ।

डा. तुलाधरले नयाँ कान“नको विषयमा जानकारी दिदै भनिन् ‘१८ वर्षको बालिकाको मन्जुरी बमोजिमको यौन सम्पर्कलाई पनि बलात्कारमा जान्छ’ यो विषयमा सहि तरिकाले जनचेतना फैलाउन जरुरी रहेको बताईन् ।

नयाँ कानूनलाई कार्यान्वयन गर्दा राज्य झन सम्बेदनशील भएर काम गर्नुपर्ने आग्रह गर्दै सरोकारवालाहरुले पनि आफ्नो कर्तव्य बोध गर्न जरुरी रहेको तुलाधरको भनाई थियो ।

कार्यक्रममा पत्रकार शिवराज भट्टले बाल यौन शिक्षा सम्बन्धी विषय स्कुलको पाठ्क्रममा समावेस गर्न जरुरी रहेको बताए ।

उनले बलात्कार जस्ता जनधन्य अपराधका मुद्धालाई पुलिस प्रसाशनलाई मात्रै नभएर न्यायिक क्षेत्रमा काम गर्नेहरु पनि अनुसन्धान गर्नपाउनु पर्ने प्रावधान हुनुपर्ने माग राखे । साथै जिल्ला जिल्लामा आत्मारक्षाको तालिम सञ्चालन गरि आधारभूत ज्ञानबारे सबैलाई जानकारी हुन एकदमै जरुरी रहेको बताए ।

क्रियाशिल पत्रकार महिला कैलालीका अध्यक्ष उन्नती चौधरीले सहजीकरण गरेकी थिइन् ।