राजपाले सरकारको समर्थन फिर्ता लिन्छ : महतो
धनगढी, ४ असोज । राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधानमा आफुहरुका मागहरु संसोधन नभए राजपाले सरकारको समर्थन फिर्ता लिने बताएका छन् ।
सञ्चारकर्मीहरुसंग विहिबार धनगढीमा कुरा गदैँ उनले सो कुरा बताएका हुन् । उनले बर्तमान सरकारमा दुई तिहाइको दम्भ सुरु भएको आरोप समेत लगाए ।
सरकारबाट जनताले न्यान पाउँन समेत कठिन हुन थालेको बताउदै हत्याहिंसा बलात्कार जस्ता जघज्य अपराधहरु बृद्धि हुदै जानु तर दोषीहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता रहेको अध्यक्ष महतोको टिप्पणी थियो ।
उनले धैर्यताको बाँध टुटेपछि नियन्त्रण गर्न गाह्रो हुने चेतावनी दिए । ‘हामी सरकारलाई समयमै सचेत भएर संविधान संशोधनमा ध्यान दिन अनुरोध गर्दछौ,’ । अहिलेको दुई तिहाईको सरकार आफैमा बलियो सरकार भएपनि उसका गतिविधिका कारण अलमलमा परेको नेता महतोले बताए ।
उनले टीकापुर घटना राजनीतिक घटना भएको भन्दै उनले रेशमला चौधरीको सपथग्रहणको माग गरे भने जेलमा रहेका टीकापुर घटनाका आरोपीहरुलाई निसर्त रिहाई हुनुपर्ने बताए ।
उनले तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पुरा नभएको बताए । महतोले भने, ‘मधेशी, थारु, दलित, आदिबासी, मुस्लिमका अधिकार समेट्ने गरी संविधान संशोधन गर्ने, टीकापुर हत्याकाण्डको आरोपमा पक्राउ परेका अभियूक्तलाई रिहाइ गर्ने लगायतका विषयमा तीन वर्षदेखि आश्वासन पाइरहेका छौं, तर कुनै पनि आश्वासन पूरा भएका छैनन् ।’
यस्तै पत्रकार सम्मेलनमा राजपा नेता अनिलकुमार झाले राजपाले वर्तमान सरकारले मधेश तथा थारूहरूको माग सम्बोधन गर्छ भन्ने आशाले अहिले समर्थन गरिरहेको बताए । ‘सरकारले इमान्दारिता देखायो भने संविधान संशोधन गर्न कुनै समस्या छैन,’ उनले भने, ‘अहिले संसदमा पनि हामी नरम भएका छौँ, जब सरकारले सुन्दैन संसद पनि गरम हुन्छ र त्यस्तै अवस्था आए सडक पनि गरम हुनेछ ।’













