संविधानको कार्यान्वयनमा जोड

हसुलिया, ३ असोज । मुलुकको नयाँ संविधानप्रति अझै पनि असन्तुष्टी देखिएकाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्दै यो संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने जोड दिइएको छ ।

संविधान दिवसको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले बुधवार हसुलियामा आयोजना गरेको संविधान दिवस समारोह कार्यक्रममा संविधानको पूर्ण कार्यान्वयन हुनु पर्नेमा जोड दिइएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सांसद वीरमान चौधरीले जनताको ठूलो बलिदानीबाट मुलुकमा नयाँ संविधान आएको चर्चा गर्दै यसको पूर्ण रुपमा कार्यान्वयन हुनु पर्ने बताए ।

‘संविधानप्रति असन्तुष्टीका स्वरहरु पनि सुनिने गरेको छ’, उनले अगाडि थपे–‘असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्दै संविधानलाई सार्थक बनाउनु पर्दछ ।’

नेपाली नेताहरुले विश्वकै उत्कृष्ट संविधान बनाएको दावी गर्दै आए पनि अधिकार नसमेटिएको भन्दै थारु समुदाय लगायतकाले असन्तुष्टी जनाउँदै आएका छन् । यद्यपि, संविधानले परिकल्पना गरेको तीन तहको सरकार गठन भइ अधिकारको विकेन्द्रीकरण भएको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले भने–‘ठूलो बलिदानीबाट प्राप्त नयाँ संविधानले सिंहदरवारको अधिकार गाउँसम्म पु¥याएको छ ।’

यसैगरी, नेपाली काङ्ग्रेसका नेता राजसमझ चौधरीले संविधान परिवर्तनशील रहेकाले अहिले विरोधभन्दा पनि संविधानको कार्यान्वयनतर्फ नै ध्यान दिनु पर्ने बताए । ‘यो संविधान अकाट्य होईन’, उनले अगाडि भने–‘संविधान कार्यान्वयनसंगै देखिएका असन्तुष्टीलाई क्रमशः सम्बोधन गर्दै जानु पर्दछ ।’ त्यस्तै, नेपाली काङ्ग्रेसकै अर्का नेता खेमराज चौधरीले राम्रो र हाम्रो संविधान बनाउनका लागि असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्दै जानु पर्नेमा जोड दिए ।

कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता परशुराम चौधरी, चन्द्रिका प्रसाद चौधरी, नेपाली कांग्रेसका रामचरण चौधरी, सरकारी तथा गैरसरकारी निकायको प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि, उक्त गाउँपालिकाको आयोजनामा हसुलिया बजारमा प्रभातफेरि समेत गरिएको थियो । प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, विभिन्न संघ संस्था, सहकारीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसैबीच, संविधान दिवसको अवसरमा कैलारी गाउँपालिका वडा नम्बर ७ कार्यालयको आयोजनामा बसन्तामा ४० वर्षभन्दामाथिका खेलाडीको पेनाल्टी शूटआउट कार्यक्रम भएको छ । त्यस्तै, वडा नम्बर २ ले चियापायन कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाएको छ ।