‘असोज तीन कालो दिन’ विरोध कार्यक्रम

धनगढी, ३ असोज । देश भरि संविधान दिवस मनाई रहँदा कैलालीमा थरुहट/थारुवान संघर्ष समितिले भने ‘असोज तीन कालो दिन’ भन्दै दिवसको विरोध गरेका छन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मालामति रानाले भनिन् ‘नेपालको संविधान ठूला बडाकोलागि चयन र पहुच नभएकाहरुको लागि ऐन मात्रै हो ।’ जसले गर्दा देशमा संविधान दिवसमा खुशी हुनुको कुनै अर्थ नरहेको बताईन् ।

‘संविधान संशोधन, टीकापुर राजबन्दीको रिहाइ लगायतको माग राज्यले नसुनेपछि कालो दिन मनाउन बाध्य छौं’ सांसद रानाले भनिन् ।
थरुहट थारुवान संघर्ष समितिका संयोजक कृष्णकुमार चौधरी क. कुन्दनले सभालाई सम्बोधन गर्दै नेपालको संविधान एक पक्षीय भएको दाबी गरे । ‘हामी संविधान मान्दैनौं भनेका छैनौ, तर वर्तमान संविधान नून बिनाको तरकारी जस्तै छ । अपूरो छ । वर्षौदेखि उत्पीडित वर्ग समुदायलाई उपेक्षित गरेको छ ।’

उनले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिएर तुरुन्त समस्या समाधान गर्नुपर्ने बताए । साथै प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई यथाशीघ्र शपथ ग्रहण गराउनुपर्ने माग समेत राखे ।