आज संविधान दिवस, खुशियाली र विरोध दुबै

धनगढी, ३ असोज । संविधान जारी भएको तीन वर्ष पुरा भई आज चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि देशमा खुशीको रंगसंगै कालो संविधान भन्दै अनुहार धमिलो बनाउनेको जमात पनि कम थिएन ।

प्रदेश नं. ७ सहित देशभरी विविध कार्यक्रम गरी आज संविधान दिवस मनाइदै छ । नेपालको संविधान, २०७२ ले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा प्रवेश गरी संघ, प्रदेश र स्थानीय तीनै तहका निर्वाचन भएर सरकार गठन भई सकेको छ । तर, संविधान कार्यान्वयनमा अहिले पनि केही चुनौति यथावत रहेको अवस्था छ ।

प्रदेश नं. ७ मा संविधान दिवस मुल समारोह समितिले तीन दिनसम्म भव्यताका साथ दिवस मनाइरहेको छ । आज सेती अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने कार्यक्रम पनि छ ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल गणले दिवसको अवसरपारी धनगढीस्थित वनदेवी मन्दिर तथा मन्दिर परिषरमा सरसफाई गरेको छ । प्रदेश सरकारले संविधान दिवसलाई भव्यताका साथ मनाइरहँदा प्रदेशमा केही पक्षले भने कालो दिनका रूपमा विरोध गरिरहेका छन् ।

अपूरो संविधान भन्दै, कालो दिवस

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलालीको टीकापुर पुगेर आफूहरू संविधान दिवस कुन अर्थमा मनाउन सक्ने भन्दै विरोध जनाए ।

टीकापुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महतोले आफूहरूले राख्दै आएको संविधान संशोधन लगायत माग अझैसम्म पूरा नभएको भन्दै संविधान दिवस मनाउन नसक्ने स्पष्ट पारे ।

मुलुकमा दुईथरिका व्यवहार भइरहेको टिप्पणी गर्दै उनले मधेशी लगायत पछाडि पारिएका समुदायका माग पूरा गर्न सरकार अझै गम्भीर नभएको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफूहरूका माग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको समेत उनको भनाई थियो ।

उनले टीकापुर घटना लगायत तराई मधेशका जिल्लामा आफ्ना कार्यकर्तालाई आन्दोलनको क्रममा राज्यले प्रतिशोध साँध्न पक्राउ गरेको बताउँदै उनीहरूलाई रिहाइ गर्नुको कुनै विकल्प नरहेको बताए ।

कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमांकन आफूहरूलाई मान्य नभएको बताए । उनले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनुपर्नेमा जोड दिए ।

झाले भने, ‘अहिलेको सरकारले मधेश मुद्दा र पहिचानसहितको अधिकार संविधानमा व्यवस्था गर्नुपर्छ ।’
धनगढीमा संविधान दिवसलाई लक्षित गरी विरोधसभा आयोजना गरिएको छ । थारु कल्याणकारिणी सभा कैलाली, थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा विरोध सभाको आयोजना गरिएको हो ।

कार्यक्रममा राजपाका नेताहरू, पहिचान पक्षधर नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताए । उनले आफूहरु संविधान दिवसको अवसरमा उत्सब होईन कालो दिवसको रुपमै मनाउने बताए ।

विरोध कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताहरुले कालो कपडा लगाएर विरोध गर्ने आयोजकले जनाएको छ