द्धन्द्धकालिकान मुद्दाः सर्वश्व सहित जन्मकैदको फैसला

कालिकोट, २ असोज । द्धन्द्धकालिन समयमा हतियार सहित नेपाली सेनाको तारादल गणबाट भागेको भन्दै शुभकालिका गाउँपालिका–५ सुकाटियाका सिंहबहादुर शाहीलाई शत्रु सम्बन्धि कसुर ऐन अन्र्तगत सर्वस्व सहित जन्मकैदको फैसला भएको छ । समरी जनरल सैनिक अदालत जंगी अड्डाले काठमाडौंले शाहीलाई सर्वस्व सहित जन्मकैद फैसला गरेको हो ।

शाहीलाई एउटा इन्सास राईफलसहित त्यसमा लाग्ने ३ वटा म्याग्जिन र ६० राउण्ड गोली सहित भागेको भन्दै र त्यस बापतको २०१८ रुपैयाँ असुल उपर गरि सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । तर, इन्सास राइफल कता गयो र त्यसको रकम असुल उपर गर्ने वा कैदका बिषयमा फैसलामा कुनै उल्लेख गरिएको छैन् ।

शाहीलाई २०७४ साल फागुनमा घरबाट पक्राउ गरि नेपाली सेनाले काठमाडौं लगेको र २०७५ साल बैशाख ९ गते सर्वस्व सहित जन्मकैदको फैसला सुनाएर अहिले काठमाडौं कारागारमा राखिएको परिवारले बताएका छन् ।

नेपाली सेनाले शाहीले २०६१ साल पौष १८ गते धादिङ्गबाट गस्तीमा गएको बेला हतियार सहित भागेको नेपाली सेनाको समरी जनरल सैनिक अदालत जंगी अड्डाले काठमाडौंले फैसला गरेको छ ।

शाही भागेको नभई माओवादीको कब्जामा परेको परिवारको भनाईं

सर्वस्व सहित जन्मकैदको फैसला सुनाईएका शाही तत्कालिन नेपाली सेनाबाट भागेको नभएर दोहोरो भिडन्तमा तत्कालिन माओवादी जनमुक्तिको कब्जामा परेको परिवारका सदस्यले बताएका छन् ।

२०६१ साल पौष १८ गते धादिङ्गको चरौदीमा तत्कालिन शाही सेना र माओवादीको जनमुक्ति सेनाको भिडन्त भएको त्यो भिडन्तमा शाहीलाई जनमुक्ति सेनाले कब्जा गरेर आफुसँगै राखेको सिंहबहादुर शाहीका दाजु नन्दबहादुर शाहीले बताए । ‘सेनाको अदालतले फैसला भनेको जस्तो मेरो भाईले हतियार लिएर भागेको हैन् ।’ उनले भने,‘धादिङ्गको चरौदीमा तत्कालिन शाही सेना र माओवादीको जनमुक्ति सेनाको भिडन्त हुदाँ माओवादी सेनाले मेरो भाईलाई कब्जामा लिएर राखेका हुन् ।’

दोहोरो भिडन्तका क्रममा शाही माओवादी सेनाको कब्जामा माओवादीले आफुसँगै राखेर शान्ति प्रक्रियापछि नगई घरमा आएर खेती किसानी काम गर्न थालेको दाजु नन्दबहादुर शाहीले बताए । ‘माओवादी कब्जामा लिएर भाईलाई आफुसँगै राखेँ ।’ उनले भने,‘शान्तिप्रक्रियापछि भाईलाई माओवादी सेनाले मुक्त गरेको हो ।’

द्धन्द्धकालिन मुद्धामा माफी हुनपर्छ

शाहीले हतियार सहित माओवादीमा लागेको भएपनि अहिले सर्वस्व सहित जन्मकैदको फैसला गरिनु गैरकानुनी भएको स्थानीयको बताएका छन् ।

शाहीले हतियार सहित माओवादीमा जानु कुनै अपराध नभएको तत्कालिन समयमा माओवादी र राज्यपक्ष बीच भएका घटना सत्य तथा मेलमिलाप आयोग सुल्टाउनु साटो आजिवन जन्मकैद फैसला गरिनु अपराध भएको नाताले काका पर्ने स्थानीय शिक्षक महेन्द्रबहादुर शाहीले बताए । ‘द्धन्द्धकालमा भएका घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगले फैसला गरिनुपर्छ ।’ उनले भने,‘यसमा सैनिक कानुन लगाएर आजिवन फैसला गरिनु गलत हो ।’

परिवारको विचल्ली

जन्मकैदको फैसला सहित शाही कारागार चलान भएपछि परिवारको विचल्ली भएको छ । ४ छोरा, २ छोरी र एक श्रमति गरी ८ जनाको परिवार विचल्लीमा परेका हुन् ।

शाहीलाई पक्राउ नगर्नु अगाडी भारतमा रोजगार गरेर परिवार पाल्दै आएका शाहीको परिवारमा कमाई गर्ने कोही मान्छे अहिले खान लाउन र बालबच्चा पाल्न समस्या भएको शाहीका श्रीमति बबिता शाहीले बताइन् । ‘परिवारमा कमाई गर्ने मान्छे कोही छैन् । बालबच्चा सानै छन् । कमाई गर्ने एउटा मान्छेलाई जेल हालेपछि हामीले कसरी बाच्ने ?’ उनले भनिन् ।

माओवादीमा जनयुद्धमा लड्ने कसैलाई काराबासको सजाय र कसैलाई राज्य संचालनको मुख्य जिम्मेवारी दिनु गरिबको कानुन नै नभएको श्रीमति शाहीले बताइन् । ‘जनयुद्ध लडेका कोही काराबासको सजाय भोगेर जेलमा बसेका छन् ।’ उनले भनिन्,‘कोही देशको सांसद, मन्त्री, प्रधानमन्त्री भएर मस्ती गरिरहेका छन् ।’

रिहाई मानव अधिकार आयोग अदालतमा मुद्धा

शाहीको रिहाईका लागि उनका दाजु नन्दबहादुर शाहीले राष्ट्रिय मानव अधिकार आयोग र सर्वाेच्च अदालतमा समेत मुद्धा दायर गरेका छन् ।