मुख्यमन्त्रीद्वारा अटवारीको शुभकामना व्यक्त, आज सार्वजनिक विदा
धनगढी, ३१ भदौं । थारु समुदायले मनाउने अटवारी पर्वको उपलक्ष्यमा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शनिवार साँझ जारी शुभकामना सन्देशमार्फत मुख्यमन्त्री भट्टले पर्वले यो प्रदेशमा एकता, भातृत्व, सामाजिक न्याय र समृद्धिको सन्देश दिन सकोस भन्दै सम्पूर्ण थारु समुदाय सहित प्रदेशवासीलाई शुभकामना दिएका हुन ।
यो प्रदेशमा विभिन्न जातजाति, वर्ग, समुदायको आ–आफ्नै किसिमको सभ्यता, भाषा, संस्कृति विद्यमान रहेको शुभकामना सन्देशमा उल्लेख छ ।
‘थारु समुदायले मनाउँदै आएको पर्वहरुमध्ये अटवारी पर्वलाई थारु समुदायले आफ्नै मौलिक रुपले मनाउँदै आएका छन्’, शुभकामना सन्देशमा उल्लेख छ । अटवारी पर्वको अवसर पारेर प्रदेश सरकारले आज भदौ ३१ गते (आइतवार) प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।














