राष्ट्रपतिलाई निर्मलाकी आमाको आग्रह– आफ्नी छोरी सम्झेर न्याय दिनुस्
काठमाडौं, २८ भदौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।
न्याय खोज्दै काठमाडौं आइपुगेकी दुर्गाले रिपोर्टर्स क्लबमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति पनि एउटा आमा भएकाले आफ्नै छोरी सम्झिएर न्याय दिने आशा व्यक्त गरिन् ।
‘प्रधानमन्त्री ज्यू यहीँ हुनुहुन्छ । महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ । न्याय दिलाउने जिम्मा उहाँहरूमा छ,’ उनले भनिन्, ‘न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनू, तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।’
न्याय नदिने भए आफूलाई गोली ठोक्न उनले सरकारलाई आग्रह गरिन् । ‘न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंलाई मार्न चाहन्छौं भन्नुहोला । मेरो छोरीको बलात्कार भएर बितेर अहिले देश नै रोइरहेको छ । मलाई पनि मार्छु भन्नुस् गोली ठोक्नुस् । म पनि मर्न चाहन्छु ।’ राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनुस् । तपाईंको पनि छोरी सम्झिनुस् । सभारः लोकान्तर














