निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका विष्ट रिहा

कञ्चनपुर, २६ भदौं । निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट निर्दोष ठहर भई रिहा भएका छन् ।

निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा आज (मंगलबार ) रिहा आदेश दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले बताए ।

निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल बस्तु) मा रहेको बलात्कारीको डीनए र दिलीपसिंह विष्टको डीएनए फरक पाइएको हो । विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट पठाएपछि उनी रिहा भएको कडायतले भने ।

१३ वर्षीया बालिका पन्तलाई बलात्कारपछि हत्याभएको २५ औं दिनमा प्रहरीले ४१ वर्षीय विस्टलाई भदौ ४ गते घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । मानसिक सन्तुलन समेत गुमाएका विस्टलाई पक्राउ गरेपछि कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय किशोर सनी खुन्नाको मृत्यू भएको थियो ।

पन्त गत साउन १० गते बेपत्ता भएकी थिइन् । बेपत्ता पछि भोलिपल्ट उनको गाउँ नजिकैको उखुबारीमा नग्न अवस्थामा शब भेटिएको थियो ।