संस्कृति संरक्षण गर्न राज्य गम्भिर हुनुपर्नेमा जोड

धनगढी, २५ भदौं । थारु समुदायको पर्व, संस्कृति संरक्षण गर्न राज्यले पनि गम्भिर हुनुपर्ने थारु अगुवाहरुले बताएका छन् ।

सोमबार धनगढीमा थारु पत्रकार संघ नेपाल कैलाली र क्रियाशिल पत्रकार महिलाले आयोजना गरेको थारु कला, संस्कृति पहिचानमा राज्यको दायित्व विषयक छलफल कार्यक्रममा सो कुरा बताइएको हो ।

छलफल कार्यक्रममा थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभात कुमार चौधरीले थारु समुदायले मनाउदै आएको चाडपर्व संस्तागत गर्न राज्यले नै सो समुदायको संस्कृतिलाई सम्बोधन गर्न जरुरी रहेको बताए ।

त्यस्तै थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरीले थारुहरुले आफ्नो माग मुद्धाको लागि बुलन्द अवाज उठाउनु पर्ने बताए । उनले गैरथारु समुदायको चाडपर्व जस्तै थारु समुदायको चाडपर्व उत्तिकै महत्व बोकेको हुनाले सार्वजनिक विदा हुनु पर्ने सरकारसंग माग समेत गरे ।

त्यसै गरि थारु कल्याणकारीणि सभा कैलालीका सल्लाहकार रोहित चौधरीले थारु समुदायले मनाउदै आएको प्रथा जनित कानून, कला, संस्कृति, भाषाको जगेर्ना गर्न थारु समुदायसंगै राज्यको पनि दायित्व रहेको बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इन्दिरा चौधरी, पुरन चौधरीले थारु समुदायको कला, संस्कृति नेपालको संस्कृतिभित्र पर्ने भएकोले यसलाईपनि राज्यले सम्बोधन गर्न जरुरी रहेको बताए ।