छोरी बलात्कार हुनु अभिभावकको कमजोरी हो : नगरप्रमुख वड
धनगढी, २१ भदौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले छोरी बलात्कार हुनुमा अभिभावककै कमजोरी रहेको जिकिर गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समितिले बिहिबार आयोजना गरेको तीजको दर खाने कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने–‘अभिभावकहरुले आफ्नो बच्चा कहाँ जाँदैछ, कोसंग बोल्दैछ, कस्तो पहिरन रुचाउँछ भन्ने कुरामा ध्यान दिन नसकेर विभिन्न खाले आपराधिक घटना घट्दै गईरहेको छ ।’
अहिलेको अभिभावकहरुले आफ्नो बच्चालाई संस्कार नसिकाएकै कारण बच्चाहरु अराजक हुँदै जाँदा बलात्कारको घटनामा पनि वृद्धि भएको हुन सक्ने नगरप्रमुख वडको तर्क थियो । छोरी मान्छे घरबाट बाहिर जाँदा साथमा कोही साथी लिएर हिड्नुपर्ने, पहिरमा ध्यान दिनुपर्ने, आमा बुवाले भनेको मान्नु पर्ने जस्ता कुरामा अभिभावकले आफ्ना छोराछोरीलाई सिकाउन जरुरी रहेको बताए । उनले तीज भड्किलो नगर्न आग्रह समेत गरे । उनले धनगढी नगरपालिकाले सबै जातजातिहरुको कला संस्कृति संरक्षण र प्रर्वद्धन गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा सन्तोष शर्माले प्रदेश नं. ७ का महिलाहरुले गौरा पर्व बलात्कार विरुद्धको दोहोरी गाएर गौरा मनाए । त्यस्तै तीजलाई धेरै भडकिलो नगर्न सबैलाई आग्रह गरिन् । उनले तीजमा सबै दिदी बहिनीहरुले तीजको शुभकामना अदानप्रदान गरेर मनाउँनु पर्ने तर गरगहनामा प्रतिपर्धा नगर्न समेत आग्रह गरिन् ।
हरितालिका तीज नजिकिदै जाँदा महिलाहरु ठाँउ–ठाँउमा दर खाने कार्यक्रमहरु गरिरहेका छन् ।














