श्रीकृष्ण जन्माष्टमीको तिथिबारे अन्योल, ब्रतालुहरुमा १७ र १८ गतेमा जुहारी
धनगढी, १७ भदौं । यो वर्ष कृष्ण जन्मष्टमीको तिथिबारे अन्योल भएका थारु समुदायहरु ब्रत १७ गते बस्ने या १८ गते भनेर फेसबुकमै जुहारी चलिरहेको छ ।
३० अगष्टमा छविलाल कोपिलाले आफ्नो फेसबुकमा लेखेका थिए, पौराणिक पात्र कृष्णको जन्म भदौ कृष्णपक्षको अष्टमी तिथिमा भएको कुरा कृष्ण लिला र गाथाहरुमा उल्लेख छ । यही अनुरुप थारू समुदायमा अष्टमी तिथिकै दिन अस्टिम्की मान्ने परम्परागत चलन छ र लोक मान्यता पनि यही हो ।

अष्टमी अभ्रंश भएर अस्टिम्की भएको हो । यो कुरा पनि सबैलाई थाहा छ । यसकारणा यो पर्व निर्विवाद रुपमा अष्टमी तिथिमा मनाउनु पर्छ भन्ने कुराको बलियो आधार हो । तर, यस बर्षको नेपाली पात्रोमा भदौ १७ गते सप्तमीको दिन कृष्णाष्टमी भनी प्रकाशित भएकोले जनमानसमा ठूलो भ्रम भएको लेखिएको छ ।
उनले थारु समुदायमा १७ गते सप्तमी र १८ गते अष्टमी गरि दुई दिन अस्टिम्की पर्व मान्नु पर्ने अन्यौलता सृजर्ना नहोस् भनेर १८ गते नै अष्टमीको ब्रत बस्न सन्देश दिएका थिए । तर यो वर्ष कोही ब्रतालु आईतबार र कोही ब्रतालु सोमबार ब्रत बसेर अष्टिम्की मनाउदै छन् ।
तिथिमा गडबड
थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन् ‘सप्तमीको दिन कृष्णजन्माष्टमी भनेर नेपाली क्यालेण्डर लेखिएको छ । भारतीय क्यालेण्डरहरूमा अष्टमीको दिनमा कृष्ण जन्म अष्टमी लेखिएको छ । फलस्वरुप वर्ष, महिना तिथि, बार, गते, पल, फल, नक्षत्र आदिको खेती गर्नेहरूबीचमा नै मतैक्यता हुन नसक्दा कृष्ण जन्माष्टमी मनाउनेहरुमा अन्यौलता देखिएको हो ।
थारु कल्याणकारीणिसभा, थारु नागरिक समाज, थारु विद्यार्थी समान, थारु पत्रकारसंघ लगायतले १८ गते सोमवार अष्टमी पर्ने भएकोले कृष्ण जन्माष्टमी पनि १८ गते नै मनाउने भनेर विज्ञप्ती समेत प्रकाशन गरेको थियो । तर धेरै थारु ब्रतालुहरु आज (आइतबार) नै ब्रत बसेर अष्टिम्की मनाउदै गरेकोले फेसबुकमा जुहारी चलेको हो ।
अष्टिम्कीको मौलिकता
पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ १६ गते राति दर खाएका ब्रतालुहरू आइतवारदेखि सोमवारसम्म अष्टिम्की पर्व मनाइने गर्दछन् ।

थारु लोक संस्कृतिविद् अशोक थारुका अनुसार आइतवार दिनभरि ब्रत रहेका ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्तामा हातले कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात् पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको छ ।
उनको अनुसार अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो । भगवान श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ । अष्टिम्कीको अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण जन्मेकाले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाले विशेष रुपमा मनाउने हुनाले यस दिनलाई थारु समुदाममा अष्टिम्की भनिने प्रलचन रहिआएको छ ।
अष्टिम्कीमा ‘कान्हा’को जीवनीलाई भित्तामा चित्रको माध्यमबाट कोरेर चित्रण गरिन्छ । यसरी कोरिएको चित्रमा धुमधामसँग टीका, फलफूल, जल अर्पण तथा दीप प्रज्वलन गरी पूजा गरिन्छ । रातभरि त्यही पूजा कोठामा पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लिला समेतिएको गीत गाउने समेत प्रचलन रहिआएको छ ।
अग्रासनको पर्खाइमा चेली
अर्को दिन पनि बिहानै ब्रतालु महिलाले अघिल्लो दिनझै टिक्ने गर्दछन् । तत्पश्चात् अघिल्लो र पछिल्लो दिन टिक्ने क्रममा लगिएका विभिन्न पूजा सामग्री नजिकको नदी, खोलामा सेलाउन जान्छन् । त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन् ।

उता, घरमा ब्रतालु महिलाका परिवारजनले खरिया, फुलौरी, माछाको सुकुटी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन् । जुन परिकारलाई ती ब्रतालु महिलाले ‘फरहार’ गर्छन् । विभिन्न परिकारहरूको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्नुलाई थारु समुदायमा फरहार भनिन्छ । फरहार पश्चात मात्रै ब्रतालु महिलाहरूले खाना खान्छन् । यसरी फरहारको क्रममा दुना र टपरीमा छुट्याएर राखिएका परिकारलाई आफ्नो विवाहित चेलीबेटीहरूलाई अग्रासन (कोसेली) को रुपमा दिन जाने प्रचलन समेत रहँदै आएको छ ।
यसरी एकातिर, थारु समुदायमा अष्टिम्की पर्व असत्यमाथि सत्यको जीतको खुशीयालीको रुपमा मनाइन्छ भने अकोतिर, विवाहित चेलीहरूलाई अग्रासन दिन जाने प्रचलनले समाजमा भाईचाराको भावना जागृत गर्दै आएको थारु बृद्धिजीवीहरूको भनाई छ ।














