कञ्चनपुरमा फेरी एक बालिकालाई बलात्कार
महेन्द्रनगर, १५ भदौं । निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलित भएको कञ्चनपुरमा फेरि अर्को बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा चिनेजानेकै किशोरले बालिकामाथि बलात्कार गरेको बताइएको छ । बिहीवार राति बेल्डाँडी गाउँपालिकाको जबदियामा १५ वर्षीय बालिकामाथि बलात्कार भएको ईलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए ।

‘बालिकाको घरमा पूजा चलिरहेका बेला राति साढे १ बजेतिर चिनजानकै जनक खड्काले फोन गरेर बाहिर बोलाएछन् । त्यसपछि खड्कासहित भानु विष्ट लगायतका किशोरले नियन्त्रणमा लिएर १ किलोमिटर टाढा लगेर जबर्जस्तीकरणी गरेको पीडित बालिकाले बताएकी छन्,’ प्रहरी निरीक्षक बमले भने ।
मोटरसाइकलमा राखेर ४ जना किशोरले बालिकालाई घरबाट टाढा लगेका थिए । बिहान करीब ४ बजेतिर घटनाबारे जानकारी आएपछि अभियुक्तको खोजीकार्य भइरहेको र पीडित बालिकालाई मेडिकल जाँचका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगर पठाइएको बमले बताए ।













