निर्वाचनको सवालमा कसैलाई भ्रममा नपर्न संघको आग्रह

धनगढी, १४ भदौं । कैलाली उद्योग वाणिज्य संघले आगामी साधारण सभा तथा निर्वाचनको सवालप्रति सकैलाई भ्रममा नपर्न आग्रह गरेको छ ।

संघको आगामी साधारण सभा तथा निर्वाचनका विषयमा केही व्यक्तिबाट गलत होहल्ला फैलाउने काम भइरहेको भन्दै आपत्ति जनाउदै त्यस्ता भ्रमको पछाडि नलाग्न आग्रह गरेको छ ।

‘कैलाली उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिले उचित समयमा निर्वाचन गराएर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछ ।’

संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शंकर बोगटीले नयाँ कार्यसमितिका लागि निर्वाचन गराउने तयारी अन्तिम रहेको बेला अदालतमा मुद्दा परेका कारण समस्या सिर्जना भएको बताए ।

बोगटीले उच्च अदालतले परमादेश जारी गरेकाले जिल्ला प्रशासन कार्यालयको निर्देशनको पर्खाइमा रहेको बताए । उच्च अदालतले संस्था दर्ता ऐन २०३४ अनुसार प्रशासनको नाममा परमादेश जारी गरेको थियो । सोही अनुसार कैलाली उद्योग वाणिज्य संघले अध्यक्ष बोगटीको संयोजकत्वमा सुझाव समिति गठन गरी राय सल्लाह सुझाव संकलन गरी प्रशासन कार्यालयमा चार बुँदे सुझाव पठाएको जानकारी दिए ।

उनले कर र प्यानमा दर्ता भएका व्यावसायीलाई निर्वाचनमा मताधिकार दिने सहमति भएको बताउदै निर्वाचन हुन अझ केही समय लाग्ने बताए ।

संघका अध्यक्ष बोगटीले निर्वाचनका विषयमा लिएर संघमा आवद्ध व्यवसायीहरूसँग भदौ १८ गते बिहान ८ बजे भेला गरिने जानकारी दिए ।