कृष्ण जन्माष्टमी (अष्टिम्की) तिथि अनुसार भदौं १८ गते मनाउने

धनगढी, १४ भदौं । नेपाली भित्तेपात्रो अनुसार कृष्ण जन्माष्टमी (अष्टिम्की) भादौं १७ गते आइतबार उल्लेख गरिए पनि तिथि अनुसार भदौं १८ पर्ने भएकोले पश्चिम नेपालका थारु समुदायले पनि १८ गते नै मनाउन आग्रह गरिएको छ ।

थारु भित्तेपात्रोमा पनि १८ गते नै उल्लेख गरिएको छ । जसले गर्दा सबै थारुहरु अष्टिम्की १८ गते नै मनाउने थारु अगुवाहरुले निर्णय गरेका छन् ।

बिहिबार जारी विज्ञप्तीमा नेपाली क्यालेन्डरमा भदौं १७ कृष्ण जन्म अष्टमी उल्लेख गरिएको तिथि सप्तमी पर्ने भएकोले पुखौंदेखि मनाउदै आएको अष्टिम्की अष्टमीमा मनाउदै आएको तर्क दिएको छ ।

थारु कल्याणकारीणि सभा कैलाली, थारु विद्यार्थी समाज कैलाली, सखी सञ्जाल कैलाली र थारु पत्रकार संघ कैलालीले हस्ताक्षर गरेको विज्ञप्तीमा द्धापर युगमा भगवान कृष्ण भादौं महिनाको कृष्ण पक्ष (अँधरिया) को अष्टमी तिथिमा जन्म लिएको कारण थारु समुदाय सो तिथिमा यो पर्व मनाउँदै आएको बताइएको छ ।

विज्ञप्तीमा यो वर्ष भदौं १८ गते अष्टिम्की, भदौं ३१ गते अटवारी र असोज ८ गते अनत्तर ब्रत मनाउन अनुरोध समेत गरेको छ ।