बलात्कार पछि हत्या भएका परिवारलाई जनही पाँच लाख दिने प्रदेश सरकारको निर्णय
धनगढी, ११ भदौं । गौरीगंगा नगरपालिका ११ का माया विकका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैया दिने निर्णय गरेको छ । मायाको असार १२ गते सामुहिक बलात्कारपछि हत्याको थियो ।
सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आज बसेको मन्त्री परिषद बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश वहादुर शाहले विकको परिवारलाई राहत स्वरुप सो रकम दिने निर्णय गरेको हो ।
असार १२ गते बेपत्ता भएकी विकको १५ गते नजिकैको जंगलमा शव भेटिएको थियो ।
हत्यामा संलग्न पाँच जनालाई पुर्पक्षको लागि कैलाली कारागारमा चलान गरिएको छ । उनीहरुको भदौं १२ गते (भोली) पहिलो पेशी रहेको स्रोतले जनाएको छ ।
उनीहरु माथि हत्या, बलात्कार र सामुहिक बलात्कार गरेको भन्दै तीन वटै महलमा सजाय हुने बताएको छ ।
त्यसै गरि बलात्कारपछि हत्या भएकी कञ्चनपुरका पन्त परिवार र महेन्द्रनगरमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सहिद सनी खुनाका परिवारलाई पनि पाँच–पाँच लाख रुपैया दिने निर्णय गरेको छ ।
आईतवार निर्मला र सनीको परिवारलाई भेटदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पाँच पाँच लाख रुपैया दिने घोषणा गरेका थिए ।
यस्तै बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी कविता विष्टका परिवारलाई समेत राहात प्रदान गरिने मन्त्री शाहले बताए । ‘कविताको घटनाका सम्बन्धमा सरकारले अध्ययन गरिरहेको र छिट्टै राहात घोषण गरिने छ ।’
गत असार ३२ गते लालझाडी–मोहना वन क्षेत्रको अम्खैया खोला नजिकै कविताको शव भेटिएको थियो ।













