कञ्चनपुरमा प्रहरीको गोली प्रहारबाट १३ वर्षिया बालकको मृत्यू
महेन्द्रनगर, ८ भदौं । बालिका बलात्कार गरि हत्या गर्ने अपराधीलाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भईरहेको आन्दोलनमा शुक्रवार प्रहरीको गोली प्रहारबाट १ जनाको मृत्यु भएको छ ।
मृत्यू हुने कञ्चनपुरका १३ वर्षिया बालक सनि खुनाको गोली लागेर मृत्यू भएको घटना स्थलबाट नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले जानकारी दिए ।
आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको हो ।
प्रदर्शनकारी आक्रोशित भएका छन् । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको हो ।
दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो ।













