कञ्चनपुरमा गोली चल्यो, गोली लागेर १० जना घाइते, गम्भीर २ जनालाई रेफर
महेन्द्रनगर, ७ भदौं । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ ।
बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न प्रशासनले देखाएको उदासिनताविरुद्ध आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि बिहीवार प्रहरीले गोली चलाएको हो ।
सदरमुकाम महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १० जना घाइते भएका खबर प्राप्त भएको छ ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल प्रशासनबाट आन्दोलनमा घाइतेभएकाहरुमध्ये आन्दोलकारीतर्फ ७ जनाको नाम प्राप्त भएको छ ।
घाइते हुने आन्दोलनकारीमा स्थानीय अर्जुन भण्डारी, तेज भट्ट, किरण प्रसाद पाण्डे, सरोज खड्का, विरित पनेरु र सन्तोष कुमार कठरिया छन् ।
यस्तै प्रहरीतर्फ पनि केही घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार हर्क बहादुर पालको नाम खुलेको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थाका अर्जुन भण्डारी र तेज भट्टलार्इ अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । गम्भीर घाइते भण्डारीको खुट्टा र भट्टको टाउकोमा चोट लागेको जनाइएको छ ।













