थारु आयोगमा पदपूर्तिका लागि आवेदन आह्वान

धनगढी, ६ भदौं । सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले सरकारले प्रक्रिया अघि बढाएको हो ।

संवैधानिक परिषद्को सचिवालयले संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । यसका लागि योग्यता पुगेका व्यक्तिहरुको रोष्टर तयार गर्नका लागि सरकारले सूचना प्रकाशित गरेको हो ।

‘संवैधानिक निकायको देहायको पदमा नेपालको संविधान बमोजिम नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरूको अभिलेख तयार गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ। नेपालको संविधान बमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र संवैधानिक परिषद्को सचिवालयमा तोकिएको फाराम भरी अनलाइन मार्फत उपलब्ध गराउनुहुन संवैधानिक परिषद् (कार्यविधि) नियमावली, २०६८ बमोजिम यो सूचना प्रकाशन गरिएको छ।

सूचनाअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि उम्मेद्वार माग गरिएको परिषद् सचिवालयले सूचनामा उल्लेख गरेको छ ।