कञ्चनपुर घटनाः वास्तविक अपराधी लुकाउन खोजिएको भन्दै महेन्द्रनगर बन्द
कञ्चनपुर, ५ भदौं । बलात्कारपछि बालिका हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले लुकाउन खोजेको भन्दै आज महेन्द्रनगर बजार बन्द गरिएको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
कञ्चनपुरको भीमदत्तनगर नगरपालिकाकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषीलाई लुकाउन खोजिएको आरोपमा स्थानीयले बजार बन्द गरेका हुन् ।
प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा घटनामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका मानसिक सन्तुलन ठिक नभएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरेका व्यक्ति वास्तविक अपराधी नभएको र वास्तविक अपराधी लुकाएर सबै दोष दिलीपसिंहको थाप्लोमा हालिएको आरोप बन्दकर्ताहरूको छ ।
मानसिक रोगीको आरोप
सोमबार दिलीपसिंहलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दा प्रहरीले जारी गरेको विज्ञप्तिमा उनी मानसिक रोगी भएको कुरा उल्लेख छ ।
बलात्कार र हत्यामा संलग्न दिलीपसिंह विष्टका दाजु खड्गसिंह विष्टका अनुसार दिलीपसिंहको मानसिक सन्तुलन ठिक छैन ।
उनी प्राय घरमा पनि बस्दैनन् । जे भेट्यो त्यही खान्छन् । लुगा कसरी लगाउने भन्ने पनि थाहा छैन् । सडक पेटीमै दिन रात बिताउँछन् ।
खड्गसिंहले मानसिक अवस्था ठिक नभएको आफ्नो भाइलाई हत्यारा बनाई घटनाका मुख्य दोषी उम्काउन खोजेको आरोप लगाएका छन् ।
बलात्कार र हत्या आरोपमा पक्राउ परेका दिलीपसिंह मानसिक रोगी भएको आरोप स्थानीयको छ । घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीय थप आक्रोसित भएका हुन् ।

बालिकाको शव भेटिएको दिनदेखि नै चाँडो भन्दा चाँडो दोषीको पहिचान गर्न दवाव दिने उद्देश्यले स्थानीयले हरेक दिन आन्दोलन गर्दै आएका थिए ।
पत्रकार बीपी अनमोलका अनुसार आजको आन्दोलनमा पनि अधिकारकर्मी, महेन्द्रनगर बजारका व्यापारी, स्कुल कलेजका विद्यार्थी लगायत स्थानीयको बाक्लो उपस्थिती छ ।
आज बिहानैदेखि महेन्द्रनगर बजार बन्द गराएका उनीहरूले प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरिरहेका छन् । बन्दका कारण यातायात ठप्प भएको छ ।
२६ औं दिनसम्म अनुसन्धानमा कुनै सफलता नभइ रहेको अभिव्यक्ति दिने प्रहरीले अन्तिम समयमा आएर मानसिक स्वास्थ्य ठिक नभएका व्यक्ति अपराधी भन्दै सार्वजनिक गर्नुले घटना थप रहस्यमय बन्दै गएको आरोप स्थानीयको छ ।
रिले अनशन जारी
मानवअधिकारकर्मी शारदा चन्दका अनुसार अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयको गेटमा शुरु गरेको रिले अनशन आज पनि जारी छ ।
घटनाको सत्य तथ्य पत्ता लगाउन स्थानीय प्रहरी प्रशासन असफल भएको भन्दै शुरु गरिएको रिले अनसनमा अधिकारकर्मी महिला पुरुष, विद्यार्थी, स्थानीय व्यापारी, समाजसेवी लगायतको उपस्थिती छ ।
कञ्चनपुरका व्यापारी लगायत स्थानीय नै आन्दोलनमा उत्रिएपछि बजारको अवस्था तनावग्रस्त बनेको छ ।
घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिराखेको छ ।
गएको साउन १० गते साथीको घरमा पढ्न गएकी बालिकाको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा पानी जमेको उखु बारीमा शव फेला परेको थियो । महिला खबर













