‘टीकापुर घटनाको घाउ उस्तै छ’

टीकापुर, २८ सावन । भदौं ७ गते घटेको टीकापुर घटनाको असर हालसम्म उस्तै रहेको टीकापुर क्षेत्रका थारु तथा आदिवासी जनजाति अगुवाहरुको दुखेसो छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९औं स्थापना दिवसको अवसरमा टीकापुरमा फोनिज कैलाली शाखाले आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी अगुवाहरु दुखेसो गरे।

थारु कल्याणकारिणी सभा कैलालीका सल्लाहकार गोपाल चौधरी २०७२ भदौ ७ र ८ गते घटेका टीकापुर घटनाको असर अहिलेसम्म बल्झिएको बताए ।

‘थरुहट प्रदेशको माग समग्र थारु तथा आदिवासी जनजातिहरुको माग थियो । तर राज्य बल प्रयोग गरेर दमन ग¥यो । त्यसको असर अहिलेसम्म भोग्दै छौं । हामी राज्यद्धारा पीडित छौं’ उनले अघि भने ।

नेपाल आदिवासी जनजाति महासंघ टीकापुर नगर कमिटी अध्यक्ष चित्र राजीको भनाइ पनि गोपाल चौधरीको जस्तै थियो । उनले पनि आदिवासी जनजातिहरुलाई राज्य घरीघरी दमन गरेको बताए ।

अधिकारको आन्दोलन हमेशा दबाउने काम हुदैँ आएको बताउँदै उनी घटनापछि राज्यको दमनले नै आन्दोलन कमजोर भएको उल्लेख गरे ।

अहिले पनि अधिकांश आदिवासी जनजाति राज्यको मूल धारमा नआएकोले आदिवासी जनजाति पत्रकारहरु मुद्धा उठानको लागि कमल चलाउनु पर्ने जोड दिए ।

टीकापुर घटना पक्ष थरुहट आन्दोलनको शक्ति तहसनहस भएको पनि सहभागीहरु बताएका थिए । टीकापुर नगरपालिका–६ का वडा अध्यक्ष बलिराम चौधरी राज्यले थरुहट आन्दोलनलाई दमन गरेर कमजोर बनाएको बताए । मुद्धा उठानका लागि एकता जरुरी रहेको औल्याउँदै उनी जनजाति पत्रकारहरु पनि निडर र खोजीमूलक समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

त्यस्तै जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरी पनि टीकापुर घटनाले अझैसम्म टीकापुर क्षेत्रको जनजीवन प्रभावित बनेको बताए ।

जसको निकासका लागि आफू पनि हरसम्भव प्रयासमा जुतेको बताए । त्यस्तै उनले थारु समुदायमा अझै पनि जनचेतनाको कमीका कारण स्थानीय निकायका सेवा उपभोगमा पछि परेका बताए । ‘थारु समुदायका व्यक्ति विकासको काम लिएर कहिल्यै आउँदैनन् ।’ जब उनीहरुको परिवारका सदस्य, नातपात दुघर्टना र प्रहरी नियन्त्रणमा पर्छन्, त्यति बेला मात्र छुटाइ दिनका लागि हार गुहार गरेका बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी फिरुलाल चौधरी, थाकस क्षेत्रीय सभापति भागीराम चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नं।७ का उपाध्यक्ष दुर्गा देवकोटा, स्थानीय अगुवा रामलाल चौधरी, रामकृष्ण चौधरी, शर्मिला चौधरी, थारु पत्रकार संघ कैलाली अध्यक्ष प्रेम चौधरी लगायत मन्तव्य राखेका थिए ।

फोनिज कैलाली अध्यक्ष लखन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य माथि फोनिज केन्द्रीय सल्लाहकार गणेश चौधरी प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन फोनिज कैलाली सदस्य गीता चौधरी गरेकी थिइन् ।