टीकापुर घटना : तीन वर्षमा पहिलो पेशी, कारण देखाइएर सारियो

धनगढी, २४ साउन । टीकापुर घटनाका राजबन्दीहरुको तीन वर्ष पछि पहिलो पटक पेशी टोकिएको थियो तर विभिन्न कारण देखाएर उक्त पेशी सारेको छ ।

भदौ ७ गते टीकापुर घटना घटेको तीन वर्ष पुग्दैछ । जसको पहिलो पेशी आज (विहिवार) तोकिएको थियो ।

जिल्ला न्यायधिश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्धा अदालतको साप्ताहिक मुद्धा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएको हो ।

‘श्रीमान ज्यू (न्यायधिश पुर्शराम भट्टराई) को स्वास्थ्य समस्याका कारण काठमाडौं जानुभएको थियो । उहाँ आजै फर्केपनि सुनुवाई हुन सकेन’, अदालतका नायब सुब्बा भानुभक्त पाण्डेले भने–‘आज हुने भनिएको पेशी अदालतको साप्ताहिक मुद्धा पेशीको तालिकामा नचढेकोले पेशी सरेको छ ।’ उनले आज हुने भनिएको पेशी साउन ३० गते बुधबार हुने जानकारी दिए ।

मुद्धाको प्रतिवादी तर्फबाट वकालत गरिहेका अधिवक्ता गजेन्द्र केसीका अनुसार ३० गते हुने पेशीमा अदालतले साक्षी आदेश जारी गर्ने बताए । अदालतले वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुने जनाए ।

उनले मुद्धा नियमित पेशीमा चढेकोले अब दुई महिनामा नै किनारा लाग्ने जानकारी दिए । आवश्यक सबै प्रमाण संकलन भएको अवस्थामा दुई महिनामा नै मुद्धाको किनारा लाग्ने अधिवक्ता केसीले ठोकुवा गरे ।

उता, आज हुने भनिएको पेशी सरेपछि टीकापुरका स्थानीयहरु असन्तुष्टी जनाएका छन् । टीकापुर नगरपालिका नगरपालिका–९ का स्थानीय टीकाराम चौधरीले तीन वर्ष पूरा हुनै लाग्दासम्म पनि सुनुवाई नहुनु विडम्वना रहेको बताए । अदालतले आफै तोकेको पेशी पनि सार्नुभनेको गम्भीर षडयन्त्र भैरहेको बताए । साथै, हालसम्म घटनाका अभियुक्तहरुलाई पुर्पक्षकै लागि कारागारमा राखेको बताउँदै उनले दोषिलाई कारवाही र निर्दोष व्यक्तिलाई स–सम्मान न्याय दिनुपर्ने माग गरे ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी एक नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो । भने त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी गरिएको समयमा संयौ थारु समुदायको घर, पसल, एफएमलगायतमा आगजनी भयो ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै थारु नेता तथा सार्वसाधारणलाई पक्राउ ग¥र्यो । हालसम्म एक नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्धा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । एक नाबालकलाई पोखरास्थित बाल सुधार गृहमा, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ । उनीहरु बिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्धा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।