थारु समुदायले साउन ३१ गते गुरही मनाउने

धनगढी, २३ साउन । प्रदेश नम्बर सातको राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले यहि आउने ३१ गते धनगढीमा सामुहिक गुरही पर्व मनाउने जनाएका छन ।

गुरही पर्व तयारीको बारेमा जानकारी दिन बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा गुरही पर्व धनगढीको गुरहीचोकमा सामुहिकरुपमा मनाउने निर्णय गरेको संखी संजाल कैलालीका संयोजक इन्दु थारुले जानकारी दिनु भयो ।

थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव चौधरी पश्चिम नेपालका थारु समुदायले सदियौदेखि मनाउदै आएको पर्व रहेको बताए तर यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो भन्ने कुनै लिखित इतिहास नभएको बताए । परापूर्वकालदेखि यो पर्व नागपञ्चमीको दिनमा थारुहरुले मनाउँदै आएकोले गुरही पर्व संगे अन्य पर्वको शुरुवात हुने उहाँ बताए ।

थारु कल्याणकारिणी सभाके केन्द्रीय सदस्य इन्दिरा चौधरी खेतीपाती सकिएपछि धानबालीमा किरा नलागुन् भनेर गाँउका युवतीहरु गाँउभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) त्यस चोकमा असराउने (सेलाउने) चलन रहि आएको बताउनु भयो । सेलाइएका गुरहीलाई गाउँका युवाहरुले सजाएर ल्याएका सोटाले पिट्ने गरेको पनि बताए ।

थारु महिला सभाका अध्यक्ष दुर्गा कुश्मी गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने विश्वास रहिआएको बताए । यो पर्वलाई बालबालिकासंग सम्बन्धित पर्वको रुपमा पनि लिने गरेको बताउनु भयो । उहाँले गुरही सेलाउदा साना बालबालिकाहरुमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको बताउनु भयो ।

थारु नेता तथा राजपाका केन्द्रीय फोनीराम चौधरी गुरही पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुको साथै गाँउमा भएको दुख, संकट, विपत्ति भाग्ने बताए ।

थारु नेता गया प्रसाद कुश्मी पहिल्यैदेखि थारु समुदायमा गुरही पर्व गाँउ–गाँउमा मनाउदै आएको र गुरही पर्वलाई संस्थागत गर्न धनगढीमा पनि छरिएर बसेका थारुहरुले एकैसाथ रमाइलो गरि गुरही मनाउने बताए ।

थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकूर प्रसाद करियाप्रधान धनगढीको गुरहीचोकमा विगत केही वर्षदेखि विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा गुरही मनाउन सुरुवात गरेपछि यो पर्व संस्थागत हुदै गएको बताए ।

थारु नेतृ रामकुमारी चौधरी विभिन्न भित्रेपात्रोमा थारु संस्कृति र चाडपर्वका बारेमा अध्ययन अनुसन्धाननै नगरि नागपञ्चमीको दिनमा गुरही पर्व उल्लेख नगरेर अन्य मितिमा मनमौजी तरिकाले उल्लेख गर्दा पर्व मनाउने अन्यौलमा रहेको बताइन । उहाँले भित्तेपात्रामा चाडपर्व उल्लेख गर्दा छलफल अनुसन्धान गर्न आवश्यक रहेको पनि बताइन ।

अधिबक्ता जोहरीलाल चौधरी थारु समुदाय चाडपर्वमा धनी समुदाय रहेकाले चाडपर्व आफनै रिति संस्कृति अनुसार मनाउनु पर्नेमा जोड दिए । त्यसैगरि अर्को अधिबक्ता नाथुराम महतों पश्चिम थारुहरुले आफुहरुले मनाउने पर्वलाई संस्थागत गर्दै लागेको बताए । उहाँले थारु समुदायको गुरही पर्व यस वर्षको नागपञ्चमीको दिन साउन ३१ गते परेको जानकारी गराउदै बिना कुनै अन्यौल गुरही धुमधामका साथ मनाउन अनुरोध गरे ।