राजधानी माग गर्दै डोटीबासी धनगढीमा
धनगढी, २२ सावन । प्रदेश नं. ७ को स्थायी राजधानी डोटीमा हुनु पर्ने माग गर्दै दिपायलका आन्दोलनकारी मंगलबार धनगढीमा प्रदर्शन गरेका छन् ।
दिपायल राजधानी संघर्ष समितिको आयोजनामा भएको प्रदर्शन प्रदेश ७ को राजधानी दिपायल कायम गर भन्दै धनगढीको ट्राफिक चौराहबाट ¥याली सुरु गरी बजार परिक्रमा गरिएका छन् ।
उनीले हरेक दृष्टिकोणमा राजधानीका लागि दिपायल उपयुक्त भएको भन्दै दिपायल नबनाइए कडा आन्दोलन गर्ने चेतावनी दिए । समितिले अस्थायी राजधानी घोषणा हुनअघि पनि झण्डै एक महिना दिपायल राजधानीको माग गर्दै आन्दोलन गरेको बताए ।
स्थायी राजधानीको लागि स्थान र नामबारे सुझाव दिन गठित संसदीय समितिले छलफल जारी राखेको छ । सात दिनको समय सीमा दिइ गठन गरिएको विशेष संसदीय समितिको म्याद सोमबार एक साता थप गरिएको छ ।
सोमबारको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले समितिले छलफलका लागि थप समय चाहिएको अनुरोधपछि एक साता थप समय दिइएको जानकारी दिए ।
यसअघि साउन १४ गतेको प्रदेशसभा बैठकमा सभामुख थापाले समिति गठन गरेको जानकारी गराउँदै एक साता अर्थात् साउन २१ गतेभित्र स्थान र नामका बारेमा प्रतिवेदन पेश गर्न समितिलाई निर्देश गरेको बताए ।
तर संसदीय विशेष समितिका संयोजक तारा लामा तामाङले सात दिनको समयमा सबै सरोकारवालासँग छलफल गर्न समय अपुग भएकाले सभामुखसँग थप समयका लागि अनुरोध गरिएको बताए ।
उनले भने, ‘धेरै पक्षसँग छलफल गरिसकेका छौं, अब थप गरिएको एक साताभित्र उपयुक्त प्रतिवेदन संसदमा पेश गछौं ।’













