रेप होईन सेभ गर्न खबरदारी गर्दै सिटी बजाएर मुख्यमन्त्री कार्यालयमा धर्ना
धनगढी, २१ साउन । बलात्कार विरुद्ध कैलालीका महिलाहरुले आज पाँचौ दिन पनि धनगढीमा आन्दोलन जारी राखेका छन् ।
देशमा दिन प्रतिदिन महिला तथा बालिका बलात्कार र बलात्कारपछि हत्याका घटना बढ्दै गरेको भन्दै महिलाहरुले प्रदर्शन र विरोधलाई निरन्तरता दिएका हुन् ।
मानवअधिकारकर्मी शुमन शर्माले बलात्कार जस्तो जघन्य अपराधमा संवेदनशिल भएर अनुसन्धान गर्न आग्रह गरिन् । उनले दोषीलाई चाँडो पत्ता लगाउन राज्य सुनोस् भन्ने उद्देश्यले सिटी बजाएर खबरदारी गरिरहेको बताइन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको ११ बितिसक्दा पनि प्रहरीले दोषीको पहिचान गर्न नसकेकोले मान्छेमा भय र त्रास बढेको इन्सेकका कृष्ण विकले बताए ।
मानवअधिकारकर्मी निर्मला बागचन्दले बालिका बलात्कार र हत्यामा संलग्नलाई यथासिघ्र कानुनी दायरामा ल्याउन माग गर्दै अधिकारकर्मीको अगुवाईमा धनगढीमा पाँच दिनदेखि जुलुस, धर्ना, ज्ञापन पत्र बुझाउने कार्यक्रम जारी राखेको बताइन् ।
उनले आन्दोलनकारी महिलाहरुले राज्यले तत्काल कानुन परिमार्जन गरी बलात्कारीलाई आजिवन कारावासको सजाय तोक्न पनि माग गरिन् ।
कञ्चनपुरमा पनि आन्दोलन जारी
घटनाको ११ दिन बितिसक्दा समेत अपराधी पत्ता लाग्न नसकेकोमा कञ्चनपुरवासीको आक्रोश साम्य हन सकेको छैन । स्थानीयले बालिका हत्याका विरुद्ध दैनिक प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले डिएसपी अंगुर जिसीको नेतृत्वमा घटना अनुसन्धान गर्न एक टोली महेन्द्रनगर पठाएको थियो । सो टोलीसहित जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अनुसन्धानका क्रममा अहिलेसम्म ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरिसकेको जनाएको छ । तर बालिकाका बुबाले अनुसन्धान फितलो भएको र आफूहरुले शंका गरेका व्यक्ति समेत छाडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
बालिकाको यही साउन ११ गते पानी जमेको उखु बारीमा लास फेला परेको थियो ।













