बलात्कार विरुद्धको नारा चर्किदै गर्दा पुनः अर्की चेली बलात्कृत

धनगढी, २० साउन । कैलालीको लम्कीचुहा नगरपालिकामा पुनः १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले बलात्कार गरेको बताइएको छ ।

छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा बुढाले बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले शनिबार नै बुढालाई नियन्त्रणमा लिएको बताए ।

घटनाका आरोपी बुढालाई प्रहरीले जर्बरजस्ती करणी मुद्दा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयमा चलान गरिसकेको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई कडा कार्बाहीको माग गर्दै बलात्कार विरुद्धको नारा देश भरि चर्किदै गर्दा पुनः अर्की बालिका बलात्कृत भएकी छिन् ।