‘सुरक्षा निकायबाटै बलात्कारीको संरक्षण’
धनगढी, २० साउन । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिय बालिका बलात्कारपछि हत्या भएको घटनामा संलग्न शंकास्पद व्यक्तिलाई सुरक्षा निकायबाटै संरक्षण भईरहेको महिला अधिकारकर्मीहरुको भनाई छ ।
सुरक्षा निकायले आफ्नो विधि प्रयोग गरि अनुसन्धान जारी राखेपनि पीडित परिवारले आशंका गरेको व्यक्तिमाथि फितलो अनुसन्धान भईरहेको महिला मानब अधिकार रक्षक सञ्जालका अधिकारकर्मीहरुको गुनासो रहेको छ ।
आइतबार धनगढीमा राज्य ब्यूँझियोस् र अपराधीलाई तुरुन्त कार्बाहीको दायरामा लिई हदै सम्मको कार्बाहीको माग गर्दै सिटि जुलुस समेत निकालेका थिए ।
धनगढीको ट्राफिक चौराहादेखि निकालिएको जुलुस मुख्य मन्त्री कार्यालयको गेटमा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै एडजस नेपालका अध्यक्ष चित्रा पनेरुले प्रदेश नं. ७ मा एक पछि अर्को हुदै दिन प्रति दिन बलात्कारका घटनाहरु बढ्दै गईरहेको बताउदै दोषीलाई राज्यको जिम्मेवार निकायबाट नै संरक्षण भईरहेको आरोप लगाए ।

उनले कैलालीमा भएको सामुहिक बलात्कारको घटना सेलाउन नपाउदै कञ्चनपुरमा दुई बालिका सामुहिकरुपले बलात्कृत भएका घटनाले सिंगो नेपाली चेलीलाई दुखी बनाएको बताए ।
उनले घटना घटेको हप्तौ दिन सम्म पनि अपराधी पत्ता लगाउन नसक्नुको पछाडी अर्को रहस्य लुकेको हुनसक्ने आशंका पनि व्यक्त गरे ।
उनले आक्रोशित हुदै भने चुनाबी नारा सिंह दरबार गाउँमा भन्ने थियो तर गाउँमा त सिंहहरु मात्रै प्रबेश गरे, हाम्री चेलीहरुलाई दिनदहाडै लुछिरहेका छन् तर सरकार मुखदर्शक भएको आरोप लगाए ।
‘अन्तराष्ट्रिय स्तरमा नेपालको संविधानले उत्कृष्टताको संज्ञा पाएको छ तर आफ्नै देशमा छोरीहरु सुरक्षित छैनन । अब त सरकारी निकाय ब्यूँझ र अपराधीलाई कुनै पनि बहानामा सत्य तथ्य नलुकाई छानविन गरि हदै सम्मको कार्बाही गर ।’ पनेरुले भनिन् ।
त्यसै गरि महिला मानब अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष निर्मला बागचन्दले ‘हाम्री छोरी लुटिए तर राज्य मौन छ, महिला घर भित्र होस् वा बाहिर कहि पनि सुरक्षित भएको अभाष गर्न पाएका छनैन् , दोषी सुरक्षा निकायबाटै संरक्षित भईरहेका छन् ।’
उनले अपराधीलाई तुरुन्त कानूनको दायरामा उभ्याउन माग गर्दै हदैसम्मको कार्बाहीको अनुरोध समेत गरे ।
कोण सभालाई दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले सहजीकरण गरेका थिए ।













