टीकापुर राजबन्दी लक्ष्मण थारुको जग्गा लिलाममा
धनगढी, २० साउन । टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर जग्गा २०७५ भदौं ५ गते लिलाम हुने भएको छ ।
कैलाली जिल्ला अदालतबाट सर्ब साधारणका निम्ति यहि साउन १७ गत जारी गरिएको लिलामी सूचनामा लक्ष्मण थारुको पनि घर जग्गा लिलाम हुने उल्लेख गरिएको छ ।
साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उप महानगरपालिका १८ को कित्ता नं. ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने सूचना जारी गरिएको छ ।
कैलाली जिल्ला अदालतले जारी गरेको सूचनामा मिति २०७५ भाद्र ५ गते दिनको २ बजेदेखि साँझ ४ बजे सम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र अह्रवान गरेको छ ।
थारुले कैलाली कारागारमै कष्टपूर्णरुपले राजबन्दी जीवन विताई रहेको अनुभव सुनाउदै भने ‘टीकापुर घटना हुनु अगाडी काठमाडौको नयाँ बानेश्वरमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका थिए । तर घटना पछि आफू पक्राउ पर्दा रिसोर्ट बन्द अवस्थामा छ ।’ उनले भने – रिसोर्ट सञ्चालन गर्नको लागि ऋण लिएका थिए तर राम्रोसंग करोबार गर्न नपाउदै पक्राउ परेको दुखेसो व्यक्त गरे ।
उनी लिलाम हुन लागेको जग्गा जोगाई दिनको लागि सबैसंग सहयोगको अपेक्षा गरे । थारु विगत तीन वर्षदेखि कैलाली कारागारमा राजबन्दी जीवन विताईरहेका छन् ।













