मानब बेचबिखनको ट्रान्जिट बन्दै प्रदेश ७ को नाका

धनगढी, १७ साउन । प्रदेश नं. ७ का नाकाहरु महिला तथा बालबालिका बेचविखमा बृद्धि भईरहेको छ । खुला सिमाना र कमजोर सुरक्षाको फाइदा उठाउदै दलालहरुले सात नम्बर प्रदेशका नाकाहरुलाई मानब बेचबिखनको मुख्य ट्रान्जिट बनाउन थालेको हो ।

विगत वर्षमा पूर्वका महिला तथा बालबालिकाहरु यहाँका नाकाबाट बढी बेचिने गरिन्थे तर पछिल्लो एक वर्षको अवधिमा प्रदेश सातकै महिला तथा बालबालिकाहरु बेचिना थालिएको तथ्यांकले देखाउछ ।

आर्थिक बर्ष ०७३/०७४ मा कैलालीको सीमावर्ती नाकाबाट भारततर्फ लैजादै गरेका ८६ जनाको उद्धार गरेको माइति नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले जानकारी दिए । उनले ०७४/०७५ मा बर्षमा १ सय ९ जनाको उद्धार गरेको बताए । गत वर्ष भन्दा यो वर्ष २३ जना बढीको उद्धार भएको उनको भनाई छ ।

छिटै धनी बन्ने महत्वकांक्षा बोकेर सात नम्बर प्रदेशका महिलाहरु जोखिम मोलेरै भए पनि अवैधानिक तरिकाले भारतको वाटो हुदै विदेशिन खोज्दा दलालहरुको फन्दामा पर्नेे गरेको उनले बताए ।

केही समय पहिलेसम्म पूर्वका महिला तथा बालबालिका मात्रै बेचबिखनको शिकार हुने गरेको बताउदै संयोजक चौधरीले भने ‘अहिले सात नम्बर प्रदेशकै महिला तथा बालबालिकाहरु बढी बेचबिखन हुन थालेका छन् ।’

स्थानीय तहले बेचविखन विरुद्धमा पहल गर्न सके यी समस्या सहजरुपले समाधान हुने बताउदै चौधरीले भने ‘अधिकांश बेचबिखनका घटनामा राजनीतिक दलहरुको संरक्षकणमा हस्तक्षेप हुने गरेको छ । यो प्रवृति रोक्नुपर्छ ।’

प्रदेश स्तरमा प्रयाप्त रोजगारको सिर्जना, कानूनको पूर्ण कार्यान्वयनसंगै, दलालहरुकलाई कडा कारवाहीको दायरामा ल्याउन सके यो समस्या समाधान हुने प्रदेश सांसद पूर्ण जोशीले बताइन् ।

उनले सीमामा चेलीबेटी बेचबिखन तथा मानव ओसार पसार विरुद्ध निग्रानी गर्दै आएका थुपै्र संघ संस्थाहरु सक्रिय भए पनि बर्षेनी चेलीबेटी भारततर्फ लग्ने प्रवृत्ति घट्नुको साटो बढ्दै गएको बताईन् ।

प्रदेश नं. ७ मा कैलालीको गौरी फन्टा र कञ्चनपुरको बनबासा नाकाबाट सबै भन्दा बढि मानब तस्कर भईरहेको छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।