अनेम संघ क्रान्तिकारीद्वारा बलात्कारीलाई हदैसम्म कारवाहीको माग
धनगढी, १६ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले घोर भत्र्सना गरेको छ ।
संघका इन्चार्ज विमला सिंह र अध्यक्ष सरु चौधरीले संयुक्त रुपमा जारी विज्ञप्तीमा निर्दोष बालिका माथि भएको कायरतापूर्ण घटनामा संलग्नलाई यथसिघ्र कारवाहीको दायरामा ल्याउन सरकारसंग माग गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, मानवीयता विरोधी बर्बर अपराधीहरुकोे चांगुलमा परी कलिलै उमेरमै ज्यान गुमाएकी किशोरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो सम्बेदना प्रकट गर्दछौ ।
साउन १० गते घर नजिकै उखुबारीमा बलात्कारपछि उनको हत्या भएको थियो । ११ गते बिहान मात्रै उनको शव फेला परेको थियो । घरदेखि १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको थियो । घटना भएको ६ दिन पुगिसक्दा समेत हालसम्म अपराध गर्ने व्यक्ति फेला परेको छैन ।














