बर्दगोरियामा आमा छोराको रहस्यमय मृत्यु

धनगढी, १५ साउन । कैलालीको बर्दगोरिया गाउँपालिका २ कुण्डीमा एक महिला र ४ वर्षीय बालकको रहस्यमय मृत्यु भएको छ ।

लालबहादुर डगौराको २० वर्षीया श्रीमति सीता चौधरी र चार वर्षीय छोरा संकेत चौधरी घरभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले जानकारी दिए ।

गोठमा काम गरिरहेकै अवस्थामा लालबहादुरले छोरासहित श्रीमती नजिकै रहेको घरमा झुण्डिएको थाहा पाएपछि छिमेकीलाई खबर गरेका थिए ।

छिमेकीले प्रहरीलाई खबर गरेपछि आमाछोराको शव निकालिएको थियो । घरको ढोकाको भित्रबाट चुकुल लगाएकोले सीताले छोराको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

मृतक आमाछोराको शव पोष्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको एसपी घिमिरेले जानकारी दिए ।

प्रहरीले सोधपुछका लागि भन्दै लालबहादुरलाई नियन्त्रणमा लिएको छ । केही समयअघि मात्रै भारतबाट घर र्फकेका उनी फेरि मजदुरीका लागि भारत जाने तयारी गरेका थिए ।