आयोगको टोली अनुसन्धानबारे बुझ्न कञ्चनपुर पुग्यो
कञ्चनपुर, १५ साउन । कञ्चनपुरमा बालिकाको बलात्कार पछि हत्या भएको घट्नामा प्रहरी प्रशासनले गरिरहेका अनुसन्धानबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय धनगढीले अनुगमन गरेको छ ।
आयोगका निर्देशक दीपकजंग ध्वज कार्कीको नेतृत्वमा आयोगको टोली सोमवार स्थलगत पुगि मृतकका आफन्त, स्थानीय बासिन्दा, प्रहरी, प्रशासनसंग घट्ना अनुसन्धान कस्तो भईरहेको छ भन्नेबारे जानकारी लिएको थियो ।
आयोगका निर्देशक कार्कीले घट्नापछि स्थानीय बासिन्दा तथा खासगरी महिलाहरुमा असुरक्षा र त्रास उत्पन्न भएको बताए । उनले महिलामाथि भईरहेका हिंसाका घट्नामा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख दिल्लीराज बिष्टलाई भेटेर आयोगका निर्देशक कार्कीले हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र स्थानीय बासिन्दालाई सुरक्षाको अनुभुति महशुस गराउन ठोस कदम चाल्नआग्रह गरिएको बताए ।
आयोगका निर्देशक कार्कीले पमुख जिल्ला अधिकारी कुमार खड्कालाई समेत भेटेर पिडित परिवारलाई न्याय दिलाउन तथा दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासनले गम्भीरतापूर्वक काम गरिरहेको अनुभूति गराउन आग्रह गरे ।
आयोगको टोलीले पिडित परिवार,अधिकारकर्मी र बिरोध कार्यक्रमका क्रममा घाईते भएकाहरुलाई समेत भेटेको थियो । आयोगले बलत्कार तथा हत्याको घट्नापछि प्रहरीले गरिरहेको कार्य, दोषी उपर कारबाहीका लागि भईरहेको प्रयास, पिडित परिवारको सुरक्षा र न्यायका सम्बन्धमा बिशेष चासो राखेर प्रहरी र प्रशासनसंग यस विषयमा जानकारी लिएको थियो ।
यस्ता घट्ना दोहरिन नदिन पनि प्रहरी प्रशासनलाई आग्रह गरिएको आयोगका निर्देशक कार्कीले बताए । महिला माथि पछिल्लो केही महिना यता भईरहेका जघन्य अपराधका घट्नाहरुलाई गम्भीरतापूर्वक लिन र आगामि दिनमा यस्ता घट्ना दोहरिन नदिन पूर्व सतर्कता अपनाउन प्रहरी प्रमुख विष्ट तथा प्रजिअ खड्कालाई आग्रह गरिएको आयोगका निर्देशक कार्कीले जानकारी दिए ।
आयोगका निर्देशक कार्कीसंगको छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विष्टले छ्टिटै दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता गरेका थिए ।













