‘अब छोरा मान्छेलाई यौन शिक्षाबारे सम्बेदनशिल बनाउन जरुरी’
धनगढ, १३ साउन । कैलालीमा सामुहिक बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउदै कञ्चपुरमा एक पछि अर्को गर्दै दुई जना किशोरीलाई बलात्कार गरि हत्या भएको घटनाप्रति मानव अधिकारकर्मीहरु घोर भत्र्सना गरेका छन् ।
क्रियाशिल पत्रकार महिलाले आयोजना गरेको सन्डे क्लबमा उनीहरुले घटना प्रति भत्र्सना जनाउदै दोषी जो कोही भए पनि चाँडो भन्दा चाँडो कानूनी कठघरामा उभ्याउन माग गरेका छन् ।
कैलाली र कञ्चनपुर जिल्लामा पछिल्लो अवस्थामा बलात्कारका घटनाहरु एकदमै बढिरहेकोले अधिकारकर्मी र नागरिक समाजको भूमिका के रहने भन्ने विषयमा भएको सन्डे क्लबमा किशोरी तथा महिला माथि हुने अपराधिक घटनालाई रोक्न अब छोरा मान्छेलाई नै यौन शिक्षा बारे सम्बेदनशिल बनाउन जरुरी रहेको वक्ताहरुको भनाई थियो ।
छलफलमा इन्सेकका सरिता पुरीले यौन शिक्षाबारे जहिले छोरीलाई मात्रै किन सिकाईन्छ ? छोटो लुगा, हिडडुल गर्दा साथी संगीको सहारा लिने जस्ता शिक्षाले अपराधिक मानसिकतालाई झन बढि बढावा भईरहेको बताईन् ।
उनले भनिन् ‘मलाई छोटो लुगा मन पर्छ र म लगाएर बाहिर निस्के, यस्को मतलब मलाई रेप गर भन्ने होईन् ⁄ बरु राज्यले महिला घर भित्र वा बाहिर कसरी सुरक्षित भएको महशुस गर्छन् भन्ने खालको शिक्षा नीति ल्याउन आवश्यक छ ।’
त्यसै गरि दलित महिला अधिकार मञ्च नेपालकी कार्यकारी निर्देशक सावित्रा धिमिरेले हरेक छोरा मान्छेलाई छोरी प्रति सम्बेदनशिल बनाउन अब छोरा मान्छेलाई कानूनी शिक्षा दिन जरुरी रहेको बताईन् ।
छोरीलाई सम्मान गर्न हरेक छोराको कर्तव्य हो भन्ने सोचको विकास गर्न सबैले ‘म’ बाट शुरुवाट गरे बलात्कार जस्ता जघन्य अपराध पक्कै पनि कम हुन्छ भन्नेमा विश्वास व्यक्त गरिन् ।
छलफलमा एड्जस नेपालका अध्यक्ष चित्रा पनेरुले नेपालमा यौनलाई खुल्ला गरिदिए महिला माथि हुने सबै खाले हिंसा न्यूनिकरण हुने बताईन् ।
उनले यौन प्रति उमेरको हद्बन्दी लगाएकै कारण यौन पिपासुहरुलाई के के नै हो भनि बढि उत्सुक्ता जागेकै कारण यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेको बताईन् ।

त्यसै गरि ओरेक नेपालका संयोजक विनु रानाले बलात्कार जस्ता जघन्य अपराध गर्ने व्यक्तिलाई सरकारले मृत्यू दण्डको सजाय हुने कानून निर्माण गर्न माग गरिन् । उनले कानून बनाएर मात्रै होईन कार्यन्वयनको पाटो बलियो बनाउन सके यस्ता घटनाहरु न्यूनिकरण हुने बताईन् ।
छलफल पछि सहभागिहरु बलात्कार गर्ने व्यक्ति उन्मक्ति नपाओस् भन्ने उद्देश्यले बार एशोसियसनलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।
ज्ञापन पत्रमा महिला प्रतिनिधित्वको सवालमा नेपाल अग्रणी मूलक मध्ये परे पनि नेपालको संविधानको धारा ८४(८)ले प्रतिनिधि सभाको एक तिहाई महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।
पत्रमा प्रावधानको आधारमा राष्ट्रको सर्वोच्च निकाय लगायत विभिन्न नेतृत्वदायी भूमिकामा महिलाहरुको उपस्थितिले समाबेशीताको वकालत गर्ने समाजको निर्माण हुनु सुखद पक्ष रहेको लेखिएको छ ।
त्यति हुदा हुदै पनि विगत केही वर्षदेखि देशको विभिन्न भागहरुमा लैंगिक हिंसा, बलात्कार, हत्याका घटनाहरु दिनप्रतिदिन भयावहरुपमा बृद्धि हुदै गईरहेको ज्ञपान पत्रमा लेखिएको छ ।
कैलाली जिल्लामा मात्रै आर्थिक वर्ष २०७३/०७४ मा जवरजस्ती करणीका ३० घटनाहरु सार्वजनिक भएका थिए भने २०७४/०७५ मा ४१ घटना सार्वजनिक भएको छ । त्यति मात्रै होईन कैलाली जिल्लामा भर्खरै सामुहिक बलात्कार गरि हत्या भएको घटना सेलाउन नपाउदै कञ्चनपुरमा एक महिनाको अवधिमै बलात्कार पछि हत्या भएको द’ई वटा घटनाले देशलाई नै स्तब्ध बनाएको पत्रमा उल्लेख छ ।
१५ जनाको संस्थागत प्रतिनिधित्वको हस्ताक्षर रहेको ज्ञापन पत्रमा यस्ता अपराधका घटनाहरु नियन्त्रण गर्ने राज्यको दायित्व रहेको बताइएको छ । साथै राज्यसंगै विभिन्न संघ संस्था, नागरिक समाज, परिवार र व्यक्ति महिला र बालबालिकाको लागि सुरक्षित समाज निर्माण गर्न प्रतिवद्ध हुनुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा कैलाली जिल्लामा घटेका बलात्कार, सामुहिक बलात्कार, हत्या जस्ता जघन्य अपराधका घटनाहरु प्रति सम्बेदनशिल बन्दै पीडितको न्यायको पक्षमा बार एसोशिएसनमा आवद्ध कानून व्यवसायीहरुको भूमिका रहोस् भन्ने अनुरोध गरेको छ ।













