कर्णाली राजमार्गमा बेमौसमी तरकारी
कालिकोट, ७ साउन । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारीबाट किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कर्णाली राजमार्गको छेउछाउमा तरकारी लगाएर उनीहरुले मनग्य आम्दानी लिने गरेका हुन् ।
कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्र्तगतका कर्णाली राजमार्ग छेउछाउका ताडी, बद्रगिाउँ, दाँहा, पीलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरु बैमोसमी तरकारी खेती गर्न थालेका छन् ।
बिगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका किसानहरु अहिले तरकारी खेतीबाट चौगुना आम्दानी लिने गरेका छन् ।
बैमौसमी तरकारी खेती गरेर अहिले बर्षमा चार वटा बालीसम्म तरकारी खेती गर्ने गरेको त्यसबाट बर्षमा १ लाख देखि २ लाखसम्म आम्दानी लिने गरेको तिलागुफा नगरपालिका वडा नं. ६ जुबिथा रिशमा शाहीले बताइन् । ‘बिगतमा परम्परागत बाली लगाउँदा सामान्य आम्दानी लिने गरेका थियौं ।’ उनले भनिन्,‘अहिले बिगतका परम्परागत आम्दानीभन्दा अहिले चौगुना आम्दानी लिन थालेका छौं ।’
कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरण गर्न सजिलो भएको र माग अनुसारको तरकारी उत्पादन गर्न नसकिएको तिलागुफा नगरपालिका वडा नं. ६ का परेकबहादुर शाहीले बताए । ‘कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरणमा सहज भएको छ ।’ उनले भने,‘माग अनुसारको तरकारी उत्पादन गर्न सकिएको छैन् ।’
सामुहिक तरकारी खेतीमा किसानहरु
कर्णाली राजमार्ग बनेपछि किसानहरुले सामुहिक तरकारी खेती गर्न थालेका छन् । गाउँमा रहेको जग्गा लिएर समूह बनाएर तरकारी गर्न थालेका हुन् ।
तिलागुफा नगरपालिकाका बिभिन्न ठाउँमा स्थानीय गाउँलेहरु मिलेर कृषि समूहको गठन गर्न थालेका छन् । कर्णाली राजमार्गमा पर्ने खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका बिभिन्न गाउँहरुमा तरकारी खेती गर्न किसानहरुले समूह गठन गर्न थालेका हुन् ।
गाउँमा उत्पादन हुने तरकारी खेतीलाई बजारीकरण र गाउँका सबैको आम्दानी बृद्धि गर्नका लागि १३ जनाको कृषि समूह बनाएर ५ लाखमा जग्गा लिएर तरकारी गर्न थालिएको तिलागुफा नगरपालिका वडा नं. ५ खल्लाका सामुहिक तरकारी खेती समूहका किसान अगुवा बिष्णुलाल रेग्मीले बताए । ‘गाउँमा रहेको सबैको आम्दानी बृद्धि गर्नका लागि सामुहिक तरकारी खेतीको अभ्यास शुरु भएको छ ।’ उनले भने,‘यसबाट सामुहिकताको भावना पनि विकास हुन्छ । सबैको आम्दानीको बृद्धि हुन्छ ।’
एउटै वडाबाट बर्षमा करोडको तरकारी बिक्रि
तिलागुफा नगरपालिका वडा नं. ६ जुबिथाका किसानहरुले बर्षमा तरकारी बेचेर नै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनीहरुले मार्सी धान फल्ने खेतहरुमा धान खेतीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि बिगतदेखि नै मार्सीधान लगाउने खेतहरुमा बैमौसमी तरकारी खेती गर्न थालेका हुन् ।
बिगतमा धानको खेती गर्दा एउटा खेतमा तिन बोरा मात्र धान फलेको अहिले तरकारी खेती गर्दा त्योभन्दा बढी नै आम्दानी लिन थालेको स्थानीय तरकारी किसान जनकबहादुर शाहीले बताए । ‘बिगतमा खेतमा धान फलाउँदा दुई तिन बोरा धान फल्थ्यो ।’ उनले भने,‘अहिले त्यही खेतहरुमा तरकारी खेती गर्दा एक लाखभन्दा बढी कमाई हुने गरेको छ ।’
तिलागुफा नगरपालिका वडा नं. ६ को जुबिथा गाउँमा तरकारी खेती गरेर किसानहरुले १ करोडभन्दा बढी आम्दानी लिएको वडा अध्यक्ष बहादुर शाहीले बताए । ‘यो आर्थिक बर्षमा किसानहरुले तरकारी खेतीबाट १ करोडभन्दा बढी आम्दानी लिएका छन् ।’ उनले भने,‘यहाँका मानिसहरुको आम्दानीको पहिलो आधार तरकारी बनेको छ ।’
कर्णाली राजमार्ग आसपासका किसानहरुले तरकारी खेती गर्न थालेपछि सरकारी तथा गैरसरकारी संस्थाहरुबाटले किसानहरुले सहयोग गर्ने संस्थाहरु पनि बढेका छन् ।
किसानहरुलाई सहयोग गर्नका अहिले प्रधानमन्त्री कृषि परियोजना, सेडा नेपालले विकास परियोजना मार्फत काम गरिरहेका छन् । यी कार्यक्रमहरुले किसानलाई प्राबिधिक तथा बिभिन्न प्रकार किसानहरुलाई तालिम लगाएत अन्य क्रियाकलाप गर्न थालेको गैर सरकारी संस्था सेडा नेपाल नेपालका विकास परियोजनाका जिल्ला संयोजक प्रेमबहादुर फडेराले बताए । ‘किसानहरुले तरकारी खेती गर्न थालेपछि अहिले सरकारी तथा गैससहरुले किसानलाई प्राबिधिक तथा बजारीकरणका लागि काम गरिहेका छन् ।’ उनले भने,‘यसले किसानहरुले तरकारी खेती गर्न सहज भएको छ ।’
तरकारी खेती गर्न थालेपछि सहयोगीहरु पनि बढेका किसानहरुले अहिले तरकारी खेतीमा आक्रर्षित हुदैँ गएको स्थानीयस्तरमा काम गर्दै आएका कृषि प्राबिधिक लोकजंग शाहीले बताए । ‘किसानहरुले तरकारी खेती गर्न थालेपछि किसानहरुलाई सहयोग गर्ने संस्थाहरु बढेका छन् ।’ उनले भने,‘त्यसले पनि यहाँका किसानहरु तरकारी खेतीमा आक्रर्षित भएका छन् ।’













