सम्मान गर्न सक्दैनौं भने अपमान पनि नगर : घाईते बयक
धनगढी, ६ साउन । लम्की चुहा नगरपालिका वडा नं. २ मोटिपुरका घाईते प्रेम बयकले प्रशासनको दादागरी माथि प्रश्न गर्दै सम्मान गर्न सक्दैनौं भने अपमान पनि नगर भन्दै चोटिलो जबाफ दिए ।
उनले प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई आफ्नो गुनासो सुनाउदै भने ‘म जनआन्दोलमा घाइते भएको एक सिपाही हुँ, म संग रहेक क्षमता छ, केवल भौतिक अपांगता मात्रै छु ।’ उनले भने अपांगता भएको व्याक्तिले पाएको अधिकार जिल्ला प्रशासनले खोस्न मिल्छ या मिल्दैन भनि प्रतिप्रश्न समेत गरे ।
उनले हरेक दिन औषधी सेवन नगरे बाँच्ना नसक्ने बताउदै भने ‘म जिउदो शहिद हुँ, राज्यले हामी जस्ता अपांगता भएका व्यक्तिहरुलाई सम्मान गर्न जान्दैन भने, अपमान पनि नगर’ भन्दै आग्रह गरे ।
उनी २०६१ साल फागुन १४ गते कैलालीको बढैपुरमा दोहोरो भिडन्तमा परि घाईते भएका हुन् । उनको शरिर भरि गोलीका छर्राले भरिएको मेडिकल रिर्पोटमा देखाइएको छ ।
उनले भने ‘ढाडमा अहिले पनि गोली छ, स्पाइनल समस्यासंगै दुबै खुट्टा चन्दैन, हुईल चियरमा बस्न मिल्दैन, दिशा पिसाब पनि औषधीले हुन्छ, अरुको सहाराले हिडडुल गर्छु । विचारको दृष्टीकोणले नै बाँचेकोछु ।’ त्यसैले राज्यले आफै दिएको परिचय पत्र माथि राजनीति गरेर मेरो अपमान नगरिदिनुस् भन्दै प्रमुख जिल्ला अधिकारीसंग आग्रह गरे ।
उनी ३०६६ सालमा डाक्टरको रिपोर्टअनुसार महिला तथा बालबालिका कार्यालय कैलालीबाट रातो परिचय पत्र पाएका थिए । तर उनलाई मेडिकल परिक्षण विना नै षडयन्त्र पुर्ण तरिकाले पाएको कार्ड खारेजी भएको निर्णय पत्र २०७५ असार २७ गते पाउँदा आफूलाई अपमान गरिएको महशुस गरे ।

उनी अध्यक्ष भएको संस्था जनक्रान्ति संरक्षण मञ्चको लेटर प्याडमा संस्था नै निबेदक बनेर महिला तथा बालबालिका कार्यालयका उनको कार्ड खारेजी गर्ने भनेर निबेदन परेको सूचना पाउँदा सोही समयमै छलफल गर्ने भनेर धनगढी आएको बयकले बताए ।
उनले उजुरीबारे जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक सिडिओ जनकराज भट्टसंग छलफल गर्दा समितिसंग बस्ने बेला बोलाउने अशवासनमा उजुरी पत्र हेर्न महिला तथा बालबालिका कार्यलय पुगेको बताए ।
तर सो कार्यालयमा सहायक सिडिओले फोन गरेर उजुरी पत्र हेर्न नदिने निर्देशन पश्चात उनी सूचनाको हक प्रयोग गरेर पनि हेर्न पाएनन् अनततः एक्कासी रातो परिचय पत्र खारेजी गरेको निर्णय पत्र हातमा पुगेको गुनासो सुनाए ।
उनले आफू माथि भईरहेको अन्यायलाई प्रशासानले सच्याइयोस् भनि माग गर्दै आफ्नो शरिरको परिक्षण नगरिकन गलत कागजी रिपोर्टको आधारमा अपमान गरेको आरोप लगाए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उजुरी परिसकेपछि डाक्टरको रिपोर्ट अनुसार नै समस्याको समाधान गरिने बताए ।
उनले बयकलाई तुरुन्तै हाड जोर्नी तथा नशा विशेषज्ञ डा. प्रमोद जोशीसंग जाँच गराउन आग्रह गर्दै, रिर्पोटको आधारमा छलफल अगाडी बनाउने बताए ।













