‘कुखुरा पालनले कारोबार गर्न सक्षम बनायो’

हसुलिया, ५ साउन । कैलारी गाउँपालिका वडा नं. ४ सम्झना टोलका गोमा सोडारी ढुक्क भएर बैंकिड्ड कारोबार गरिरहेको बताइन् । उनले कुखुरा पालनबाटै बैंकिड्ड कारोबार गर्न सक्षम भएको अनुभव सुनाईन् ।

दलित महिला अधिकार मञ्च नेपालले महिला सशक्तिकरण कार्यक्रमसंगै दलित, महिला तथा सिमान्तकृत समुदायलाई आर्थिक सशक्तिकरण गर्न विगत एक वर्षदेखि गिफ्टकोरुपमा कुखुरा वितरण गरेको छ ।

मञ्चले सो समुदायका महिलाहरुलाई व्यवसायी बनाउने उदेश्यले पनि कुखुरा पालन तिर उन्मुख गरेको हो । सोडारीले भनिन् ‘दलित महिलाले आँखा खुलाई दियो । अब आफ्नै लगानीमा कुखुरा फर्म खोल्ने योजनामा छु ।’

कुखुरा पालनबारे मुक्तिक डगरसंग कुराकानी गर्दै गोमा सोडारी

गत वर्ष उनी २२ वटा कुखुराको चल्ला पाएको बताउदै भनिन् ‘कुखुरा हुर्काउदै जाँदा प्रविधिक ज्ञानको कमीले १३ वटा मरे । पाँच महिनाको अवधिमा १२ वटा कुखुरा ४ देखि ५ केजी सम्म बनाउन सफल भए ।’

उनले ८ वटा कुखुरा ३५० रुपैया केजीको दरले रु १२ हजारमा विक्री गरे । ४ वटा कुखुरा घरमै प्रयोग गरे ।

उनले थोरै समयमा राम्रो आर्थिक लाभ गर्न सफल भएको बताउँदै पुनः कुखुरा बेचेको केही रकमले ३५ वटा चल्ला किनेर पालेको बताईन् ।
३५ चल्ला मध्ये १० चल्ला मरे बाँकी २५ वटा कुखुरा मध्ये २० वटा बेचेर १८ हजार रुपैया अम्दानी गरेको बताईन् ।

उनले कुखुरा बेचेको पैसाबाट हरेक महिना रु ६ सय रुपैयाँ बैकमा जमा गर्ने बानी बसालेको बताउदै घर खर्च चलाउन लोकल कुखुरा पनि पाल्दै आएको बताईन् ।

उनले यो वर्ष २० वटा चल्ला पुनः दलित महिला अधिकार मञ्चबाट पाएकी छिन् । कुखुरा पाएको १ महिनाको अवधिमा प्रति कुखुरा ३ पाउ बराबरको बनाउन सफल भएकी छिन् ।

यो वर्ष हाल सम्म कुखुरा सबै बाचेको बताउदै दशै तिहारको बेला कुखुरा बेच्ने योजना बुन्दै राम्रो स्याहर गरिरहेकी उनी बताउछिन् ।

उनले बजार पनि राम्रो बनाई सकेको बताउदै गाउँमा भाउ नपाएपछि धनगढी सम्म पुर्याउने उदेश्यले अहिलेदेखि नै बजारको लागि सम्बन्धित व्याक्तिहरुसंग समन्वय गरिरहेको बताईन् ।

उनले कुखुरा पालनबाटै ऋण खोज्न पनि सजिलो भएको बताउदै यो वर्षदेखि बैंकिड्ड कारोबार पनि गरिरहेको छु । भविष्यमा ठूलो व्यापारीको रुपमा सबै सामु चिनिने लक्ष्ये रहेको उनले बताईन् ।

उनले भनिन् कुखुराको दिशाबाट तरकारी बारी पनि राम्रो हुने गरेको छ । यो मल प्रयोग गरे देखि यूरिया, डिएपि प्रयोग गरेका छैनौ । आरगनिक अन्न खाना पाईरहेका छौं ।

सोही टोलकै हिरा देबी भूल संस्थाबाट पाएको कुखुरालाई छोराछोरी स्याहारे झै स्याहारिरहेका छिन् । उनले पनि सोडारी जस्तै २० वटा कुखुरा पाएका छिन् । जस मध्ये २ वटा कुखुरा विरामी हुदा धेरै नै चिन्तित छिन् ।

कुखुराको उपचार गर्दै हिरादेवी भूल

संस्थाले दिएको कुखुरा जोगाउन नसके लाजमर्दो हुन्छ भन्नेर पनि जोगाउने धेरै प्रयास गरिरहेको बताईन् । उनले फुलबारीबाट २५० रुपैयाको औषधी खुवाइएरपनि कुखुरा सन्चो नहुदा आफूलाई धेरै पीडा भएको सुनाईन् ।

विरामी कुखुरालाई सन्चो बनाउनको लागि ४० रुपैया केजी प्याज किनेर घरेलु औषधी बनाई खुवाउदा पनि विरामी कुखुरा उस्तै छन् । कति कुखुरा बचाउन सकिन्छ भन्नेमा उनी चिन्तित छिन् ।

त्यस्तै मोहन्याल टोलका आरती तिरुवाले पनि हजार रुपैया खर्च गर्दा समेत ४ वटा कुखुरालाई जोगाउन नसकेको बताउदै चिन्ता व्यक्त गरिन् । उनले कुखुरा पालेर राम्रो आम्दानी गर्ने सोच रहेपनि कहिले काही निराश हुने गरेको बताईन् ।