कमैया मुक्ति भएको १८ वर्ष पुग्दा पनि पुनःस्थापित भएनन्

धनगढी, २ साउन । तत्कालिन सरकारले तराईमा प्रचलित कमैया प्रथालाई उन्मूलन गर्ने भन्दै २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो ।

कमैया मुक्ति भएको आज १८ वर्ष पुगेको छ तर कमैयाहरुको पुनःस्थापना भने हुन सकेको छैन । कमैयाहरु हरेक वर्ष साउन २ गते विभिन्न जिल्लामा कमैया मुक्ति दिवस मनाउदै आईरहेका छन् । तर दिवस दिवसमै सिमित भईरहेको अभास गरिरहेका छन् मुक्त कमैयाहरु ।

मुक्तिपछि केहि वर्षभित्रै उनीहरुको पुनःस्थापना गरी जिविकोपार्जन सहज बनाउने भनिए पनि उनीहरुको पुनःस्थापना हुन नससक्दा कमैया परिवार कष्टकर जीवन जिउन बाध्य भइरहेका छन् ।

उनीहरु सरकारी स्वामित्वको जग्गा, बाँझो जमिन, वन क्षेत्र कब्जा गरेर झुप्रो बनाइ बसे पनि बाँच्नलाई अत्यावश्यक आधारभूत आवश्यकताको उपभोग गर्न नपाएको बताउछिन् कमैया प्रथा उन्मुलन समाजको अध्यक्ष बसन्ती चौधरी ।

उनले कमैया पुनःस्थापनाको लागि हरेक पर्ष सरकारलसंग जुहारी खेल्नु परेको बताइन् । कैलालीमा पुनःर्थापना गर्नुपर्ने मुक्तकमैयाको संख्या ८ हजार ९ सय १० रहेको थियो । जसमध्ये हालसम्म ८ हजार २ सय ४१ परिवारको पुनःर्थापना भएको छ । पुनःर्थापना भइसकेको मध्येबाटै ४ सय ४० परिवारको सट्टाभर्ना गर्नुपर्ने बताईन् ।

उनले कैलाली जिल्लामा सट्टाभर्ना सहित अझै ९ सय ३६ मुक्त कमैया परिवार पुनःर्थापना हुन बाँकी रहेको बताईन् ।

गौरीगंगा नगरपालिका स्थित बेताल कमैया बस्तीकी छुट मुक्त कमैया चम्कलियादेवी चौधरीले दिनभरी काम गरेर थकित शरीरलाई आराम दिनका लागि राम्रो झुपडी पनि नरहेको दुखेसो पोखिन् । उनले खानेपानी, विद्युत जस्ता आधारभूत आवश्यकता उपभोग गर्नबाट बञ्चित रहेको बताईन् ।

पुनःस्थापना हुन नसकेका बसन्त टोल मुक्त कमैया बस्ती सरकारी जग्गा कब्जा गरेर बसेको छ । तर, स्थायी बसोबासको ग्यारेन्टी नरहेकाले अलि राम्रो घर बनाउन नसकेको कमैया बस्तीका अगुवाहरुको भनाई छ ।

‘आज घर बनाए भोली नै उठ्नु पर्छ की भन्ने चिन्ता छ’, उनीहरु भन्छन् ‘अहिले बसिरहेकै ठाउँमा पुनःस्थापना गरिनु पर्ने हाम्रो माग हो । तर, निश्चित नभएकाले अलमलमा परेर अलि राम्रो घर पनि बनाउन सकेका छैनौं ।’

‘बत्ती मुनिको अँध्यारो’ जस्तै आफूहरुले सहरमै पनि विद्युत र खानेपानी सुविधाको उपभोग गर्न नपाएको बताउछन् ।

कैलालीमा जग्गा पाउनु पर्ने आठ हजार ९१० परिवार मुक्त कमैया रहेका थिए । आर्थिक वर्ष २०७४/०७५ सम्म आठ हजार २५५ परिवारको पुनःस्थापना भएको छ । ४८२ परिवारको पुनःस्थापना हुन बाँकी रहेको जिल्ला भूमिसुधार कार्यालय कैलालीका कमैया फाँटका सुपरभाइजर अमरबहादुर चौधरीले बताए ।

उनले ४४० परिवारको सट्टाभर्ना गर्नु पर्ने देखिएकाले सिफारिस गरिएको तर मन्त्रालयबाट अहिलेसम्म स्वीकृत नभएको जनाए । यसैगरी, जग्गा पाउने मध्येकै १७३ मुक्त कमैया परिवारको परिचयपत्र रद्द गरिएको छ ।