तराईमा लाग्ने औलो र कालाजार रोग हिमालमा सर्र्यो

कालिकोट, २ साउन । बिगतमा तराईका जिल्लामा देखिने औलो र कालाजारका बिरामीहरु हिमाली जिल्लाहरुमा भेटिन थालेका छन् ।लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका बिरामीहरु हिमाली जिल्लामा समेत देखिने गरेको छ ।

जलवायु परिवर्तनका कारणले हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरुमा तामक्रमको बृद्धि भएको र तापक्रमको बृद्धिका कारणले लामखुट्टेको जन्म हुन थालेपछि हिमाली जिल्लाहरुमा औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् ।

केही समय अगाडी मुगुको खत्याड गाउँपालिका वडा नं. ८ र १० रिगागाउँमा औलोका रोगी भेटिएका थिए भने जिल्ला अस्पताल कालिकोटमा जेठ महिनामा एक जना कालाजार बिरामी उपचार गर्न आएका थिए ।

हिमाली जिल्लाहरुमा औलोका रोगीहरु भेटिन थालेपछि नेपाल सरकारले सरकारले सन् २०२२ सम्म औलो रोगीको संख्या शून्यमा झार्ने र २०२६ मा औलो अन्त्य भएको घोषणा गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।

मुगुको खत्याड गाउँपालिकाको रिगागाउँमा औलो रोग फैलिएको ठाउँमा उपचारका लागि पुगेका इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखा कोठमाडौंका भेक्टर कन्ट्रोल अधिकृत उत्तमराज प्याकुरेलले नेपालमा पाइने लामखुट्टे कारणले औलो रोग फैलिएको बताए ।

‘औलो रोग लामखुट्टेका कारणले नै सर्छ ।’ उनले भने, ‘नेपालमा ७० जातिका लामुखट्टेले औलो रोग सार्ने गरेको छन् । मुगुमा पनि त्यही लामखुट्टेमा तिन प्रकारका पाइएका छन् ।’

मुगुमा एनोफिलिज एनुलारिज, एनोफिलिज म्याकुलेट्स र एनोफिलिज क्वाड्रिम्याकुलेट्स नामक पोथी लामखुट्टे त्यहीँ हुर्किन थालेको तिनै लामखुट्टेको टोकाईबाट औलो रोग लागेको प्याकुरेलले बताए । ‘मुगुका रिगा गाउँ आसपासका बस्तीमा यी लामखुट्टे हुर्किरहेका छन् ।’ उनले भने,‘हिमाली जिल्लाहरुमा तापक्रम बृद्धि हुदैँ गएको फोहोर पनि बढ्दै गएका कारणले सहजै लामखुट्टे पाइन थालेका छन् ।’

लामखुट्टेहरु हिमाली जिल्लामा हुकर्दै गएका कारणले कालिकोटमा जेठ महिनामा एक जना बिरामी कालाजार भेटिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।

जेठ महिनामा एक जना बिरामी कालाजारको लक्षण जस्तो देखिने बिरामी जिल्ला अस्पताल कालिकोटमा उपचारका लागि आएको र उनलाई थप उपचारका सुर्खेत क्षेत्रिय अस्पतालका पठाएको जिल्ला अस्पताल विकास समिति कालिकोटका अध्यक्ष कृष्णबहादुर सिंहले बताए । ‘जेठ महिनामा कालाजारकै जस्तै लक्षण देखिने बिरामी जिल्ला अस्पताल कालिकोटका उपचारका लागि आएका थिए ।’ उनले भने,‘बिषेश गरेर तराईमा मात्र देखिने कालाजार हिमाली जिल्लामा समेत देखिन थालेका छ ।’

पहिला पहिला तराई र पहाडका जिल्लाहरुमा देखिने औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लाहरुमा देखिन थालेको छ ।