पश्चिम तराईमा हरडहुवाको रौनक

धनगढी, ३० असार । धान रोपाई सकिए लगत्तै पश्मि तराईमा हरडहुवाको रौनक छाएको छ ।

तराईको आदिवासी डंगौरा थारु, रानाथारु, कठरिया थारु वस्तीमा यतिबेला हरडहुवा, निमौनी र हरधोवाको निकै रौनक थपिएको हो ।

जुन पर्वको रौनकले रोपाइको कार्य समापन भएको जनाउ पनि गर्दछ । हरडहुवा पर्व धान रोपाइ सकिएको खुसयालीमा कञ्चनपुर, कैलाली, बर्दिया लगायत जिल्ला स्थित डगौंरा, रानाथारु, कठरिया थारूहरुले सामूहिक रुपमा खानपान, नाचगान गरी पर्व मनाउन थालेका हुन् ।

थारु नागरिक समाज कैलालीका संयोजक दिनबहादुर चौधरीले हरडहुवा पर्वको अवसरमा चेलीबेटी तथा ईष्ट मित्रहरुलाई घरमा आमन्त्रण गरी आपसमा खुसयाली साटासाट गरिन प्रचलन रहेको बताए ।

उनका अनुसार हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हर अर्थात हलो धुनु हो । जुन पर्वमा बंगुर, खसी सामूहिक रुपमा काटेर खानपान गरी रमाउने प्रचलन रहि आएको छ । तर वस्ती पिच्छे हरडहुवा फरक–फरक तिथिमा मनाउने गरिएको छ ।

पर्व मनाउने तिथिमा एक रुपता ल्याउन पनि जरुरी रहेको संयोजक चौधरीको जोड छ ।

कैलारी गाउँपालिका–८ दुधियाका बर्का गुरुवा (थारु जातिका पुरोहित) प्रदेशी थारुले हरडहुवाको आफ्नै बिशेषता रहेको बताए ।

उनले रोपाइको क्रममा जानी नजानी किंरा फट्यांग्रा, सर्प, भ्यागुतालगायत जीवहरु मार्ने काम हुने हुँदा पापबाट मुक्तिको लागि पनि हर जुवाको पूजा गर्ने र खानपान गरी हरडहुवा मनाउने चलन रहि आएको जानकारी गराए ।