कैलालीमा नौ सय अपांगता भएका बालबालिका विद्यालय बाहिर
धनगढी, २८ असार । नेपाल अपांग महासंघ कैलालीले जिल्लामा नौ सयको हराहारीमा अपांगता भएका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएको बताए ।
अपांगता भएको व्यक्तिहरुको सवालमा बिहीबार धनगढीमा भएको एक दिने अन्तरक्रिया कार्यक्रममा सो कुरा बताइएको हो ।
कार्यक्रममा महासंघका महासचिब नन्दराज भट्टले कैलालीमा अपांगता भएका बालबालिकाहरुको लागि एकिकृत अवासिय विद्यालयको व्यवस्था गरे अपांगता भएका बालबालिकाहरु सहजरुपले स्कुल पढ्न पाउन सक्ने बताए ।
उनले जिल्ला स्थित स्थानीय तहले हरेक स्थानीय तहमा नमुना विद्यालय बनाउने नारालाई मध्य नजर गरि नमुना विद्यालयलाई अपांग मैत्री बनाउन माग गरे ।
उनले कैलाली जिल्लामा १७ बाल बालिका स्कुल भर्ना भए पनि राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट हाल सम्म बञ्चित रहेको बताए ।
नेपालको कानुनमा अपांगता भएको बालबालिकाहरुलाई निशुल्क शिक्षा, छात्रा वृत्ति भनिएपनि सूचना अभावको कारण गत वर्ष ४ जना विद्यार्थीले मात्रै छात्रावृत्ति पाएको जानकारी दिए ।
छात्रावृत्ति प्रवधान गर्ने प्रक्रियापनि एकदमै झनझतिलो रहेको बताउदै उनले भने ‘जिल्ला शिक्षा कार्यालयबाटै विद्यालय सम्म समयमा सूचना आउदैन ।’ गत वर्ष सूचना प्रकाशन भएको अर्को दिन म्याद सकिएको कारण अपांगता भएका विद्यार्थीहरु छात्रावृत्ति पाउँनाबाट बञ्चित भएका थिए ।
उनले हरेक स्थानीय तहबाट परिचय पत्रको तथ्यांक संकलनको लागि गणकहरु खटाइने भएकोले गणकमा खटिएका सामाजिक परिचालहरुलाई अपांगता भएको व्याक्ति छुट्टाउनमा अन्योल नहोस् भनि पैरबी तथा वकालत गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा अपांगता भएको व्याक्तिहरुले हरेक स्थानीय तहमा दोभाषे व्यावस्था हुनुपर्ने माग राखेका थिए । उनीहरुले दृष्टि बिहीनहरुको लागि अडियो चार्तको पनि व्यवस्था हुनु पर्ने माग गरे ।













