बलात्कार गर्ने अभियूक्तलाई उन्मुक्ति दिलाउने चलखेलको आशंका
धनगढी, २८ असार । गौरीगंगा नगरपालिका ११ स्थित जहारी कटानका २१ वर्षिय माया विकलाई बलात्कार गर्ने अभियुक्तलाई राजनीतिक दलबाटै उन्मुक्ति दिलाउने चलखेल भईरहेको पीडित परिवारको आशंका छ ।
पीडित परिवार बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भने ‘५ जना प्रक्राउ गरिएको अभियुक्त मध्ये मूख्य योजनाकार गणेश बडुवाल सहयोगी तपेन्द्र बोगटी र मनोज बोगटीलाई निर्दोष रहेको भन्दै उन्मूक्ति दिलाउने राजनीतिक चलखेल भईरहेको छ ।’
मृतक माया को आमा र बुवा ले पत्रकार सम्मेलनमा भने ‘जो मूख्य योजनाकार हो, उसैको समर्थनमा राजनीतिक दल छ । राज्य सत्ताको पहुचमा रहेका अपराधीहरुलाई राज्यले कानुनी कार्बाही गर्न सक्दैन भने उनीहरुलाई फिल्डमा उतारोस हामी आफ्नो तरिकाले कार्बाही गछौं र कानुन हातमा लिन्छौं ।’
अपराध गर्ने जो सुकै होस् उनीहरुलाई राज्यले हदै सम्मको कार्बाही गरोस् । प्रहरीले पनि सत्य तथ्य अनुसन्धा गरोस् भनि पीडित परिवारको माग थियो ।
पत्रकार सम्मेलनमा सांसद पूर्णा जोशीले राज्यको माथिल्लो तह सम्म पहुच भएकाहरुबाटै श्रींखलाबद्ध तरिकाले अपराधिक घटना भईरहेकोमा दुख व्यक्त गर्दै भनिन् कानून सबैको लागि बराबर हुनु पर्छ ।
उनले सरकारले तोकिएको कानुन पीडितलाई कम भइरहेको महशुस गर्दै प्रदेश सरकारले पीडितलाई न्यायोचित हुने थप कानून बनाउने प्रतिबद्धता व्याक्त गरिन् ।
उनले अपराध गर्ने जति सुकै पहुचवाला भएपनि दोषि उन्मुक्ति हुनु हुदैन, निर्दोष पर्नु हुदैन भन्ने तर्क दिदै कहि कतै यसो हुन आएमा सिंगो प्रदेश सरकार नै जवाफदेहि हुने बताईन् ।
त्यसै गरि सांसद दुर्गा बिकले नेपालको कानून समय सापेक्ष परिमार्जन हुनु पर्ने बताउदै प्रदेश सरकारले थप बलियो कानुन बनाउन पहल भईरहेको बताईन् । उनले पीडित परिवारलाई क्षतिपूर्तिको लागि सरकार गम्भिर हुनुपर्ने बताए ।
असार १२ गते देखि बेपत्ता भएकी मायाको १५ गते अर्धनग्ंना अवस्थामा लास फेला परेको थियो । प्रहरीले उनलाई बलात्कार गरि हत्या गरेको आरोपमा ५ जनालाई असार २२ गते पत्रकार सम्मेलन मार्फत सार्वजनि गरेको थियो । प्रहरीको अनुसन्धान अनुसार बलात्कार गर्ने मध्ये चौथो व्यक्तिले बलात्कार गर्ने बेला मायाको मृत्यू भएको खुलासा भएको थियो । घटना हाल सम्म अनुसन्धानकै क्रममा रहेको छ ।













