नगरपालिकाद्धारा गाईलाई सुत्केरी भत्ता स्वरुप २० लाख विनियोजन
चितवन, २४ असार । स्थानीय तहले किसानलाई प्रोत्सान गर्न गाईलाई नै सुत्केरी भत्ता दिने निर्णय गरेको । चितवनको रत्ननगर नगरपालिकाले सुत्केरी गाइलाई मासिक भत्ता भएको नगरपालिकाले जनाएको छ ।
नगरभित्रका किसानले व्यावसायिक रुपमा पालेका सुत्केरी गाइलाई पोषण यूक्त खानेकुरा खुवाउनलाई सुत्केरी भत्ता दिने कार्यक्रम ल्याएको मेयर नारायण वनले बताए । जेठ १५ गते सम्पन्न तेश्रो नगरसभाले पशु विकास कार्यक्रमअन्तर्गत सुत्केरी गाइलाई भत्ता दिने कार्यक्रम पारित गरेको उनले बताए ।
गाईले दूध उत्पादनमा वृद्धि गरोस् भन्ने उद्देश्यकासाथ नगरपालिकाले आगामी आर्थिक वर्षबाट सुत्केरी भत्ता दिने जनाएको छ । गरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ कालागि २० लाख रूपैयाँ विनियोजन गरेको छ ।
सुत्केरी गाईलाई भत्ता स्वरुप ५०० रूपैयाँसहित औषधि, हरियो घाँस र पौष्टिक आहार प्रदान गरिने पशुपक्षी विकास शाखा प्रमुख शालिकराम पौडेलले बताए ।
नगरपालिकाले प्रदान गर्ने सुत्केरी भत्ता र पौष्टिक आहार किसानले दूध बिक्री गर्ने दुग्ध उत्पादक सहकारी संस्थाबाट दिने व्यवस्था मिलाइने छ ।
गाइ सुत्केरी भएको ११ देखि ३५ दिनभित्र किसानले भत्ता रकम र औषधि तथा तोकिएको पौष्टिक आहार लगेर गाईलाई खुवाउनुपर्ने छ । सुत्केरी गाइ पाल्ने किसानलाई घाँसको बीउसमेत नगरपालिकाले उपलब्ध गराउने भएको छ ।













